जीवछ उदासी,
माओवादीको समानुपातिक मतलाई आधार मान्ने हो भने देशैभरीमा कमजोर देखियो । मधेशमा झन् कमजोर भयो। । परिवर्तनको एजेन्डा बोकेको माओवादी यसरी कमजोर हुँदै जाने हो भने गणतन्त्र र संघियता पनि कमजोर हुँदै जानेछ । माओवादीले दस वर्षको सशस्त्र युद्ध माओवादीको शब्दमा (जनयुद्ध) को उपलब्धि हो । हुन त यतिबेला गठबन्धन सरकारकै नेतृत्व माओवादीले गरेपनि ३२ जना संघीय सांसद संख्यात्मक आधारमा बहुत कम हो । माओवादी यसरी कमजोर हुँदै जाने हो भने गरीव दलित शोषित उत्पीडित जनताको माग मुद्दा र आवाजपनि कमजोर हुँदै जानु हो भने कोणबाट पनि चर्चा सुरु भएको छ । कुनै क्रान्तिकारी पार्टी कमजोर हुनु भनेको त्यसले लिएको नीतिमा कमजोरी हुनु हो । नीति र दर्शन कमजोर भएकै कारण सांगठनिक शक्ति कमजोर हुँदै जानु हो । मधेश प्रदेशमा आखिर माओवादी किन दिनदिनै कमजोर देखा पर्न थालेको छ ? यस बिषयमा मधेश हाँक्ने नेताहरु जति गम्भीर हुनुपर्ने हो त्यति गम्भीर नदेखिएकै हो जमीनमा बसेर संगठनमा काम गर्ने नेता कार्यकर्ताहरुको बुझाई रहेको छ ।
१ माओवादी र अन्य दलको नेता कार्यकर्तामा तुलनात्मक अवस्था :
मधेश प्रदेश ८ जिल्लाहरुमा २०४६ सालपछि हरेक चुनावलाई हेर्दा काँग्रेस र एमाले बलियो रहयो । काँग्रेसको उर्बरभूमि रहेको मधेशमा २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा एमालेको अल्पमतको सरकारले गरेको कार्यको प्रभावले एमाले काँग्रेसलाई टक्कर दिइने समान्तर शक्तिको रुपमा देखियो ।२०५२ सालमा नेकपा माओवादीले जनयुद्ध सुरु गरेपछि एमाले काँग्रेसमा लागेका शोषित उतपीडित वर्ग माओवादीतर्फ झुकाव राख्न थाले । एमालेमा रहेका क्रान्तिकारीहरु माओवादीको कितामा उभिए । दस वर्षको जनयुद्धले मधेशमा हरेक दललाई कमजोर गरेको परिणाम माओवादी पनि बलियो देखा परयो । शान्ति वार्तामा आएपछि अन्तरिम संविधानमा संघियताको मुद्दा छाडयो भनेर लहानबाट सुरु भएको मधेश आन्दोलन मधेश विद्रोहमा परिणत भएपछि माओवादीलाई मधेशमा ठूलै घाटा व्यहोर्नु परयो । संविधानसभाको चुनावमा मधेश आन्दोलनको सेन्टिमेन्टले मधेशवादी दलहरुलाई फाइदा पुग्दा माओवादीको शक्ति ह्रासभयो । तर माओवादीलाई जति कमजोर गर्न खोजियो त्यति कमजोर नभएको माओवादी पछिल्लो चुनावहरुमा निकै कमजोर हुँदै गइरहेको छ । माओवादीलाई कमजोर बनाउन राष्ट्रिय अन्तराष्ट्रिय शक्ति केन्द्रहरुले गरिरहेको षडयन्त्र र फैलाई रहेको भ्रमलाई चिरेर माओवादी अघि बढ्न सकेन ।
२ कार्यकर्ताहरुको भरण पोषण गर्न नसक्नु :
जनयुद्धमा होमिएका स्थानीय नेता कार्यकर्ताहरुलाई खुल्ला परिवेशमा जनतासँग कसरी पेस हुने,साँगठनिक स्वरुप कस्तो बनाउने ? आर्थिक अवस्था कमजोर रहेका कार्यकर्ताहरुलाई भरण पोषण गर्न कुनै ठोस योजना ल्याउन नसक्दा राम भरोसे बाँच्नुपर्ने परिस्थिति बन्यो । ठूला नेताहरु शहर केन्द्रित भएर विलासिताको जीवन बिताउन थाल्नुले नेता र कार्यकर्ताबीचको कमरेडली र क्रान्तिकारी बैचारिक सम्बन्ध रहेन । एकपछि अर्को कमजोरीहरु देखिएपनि केन्द्र नेतृत्वले बेलैमा उत्पन्न समस्याको समाधान खोज्न सकेन । फलस्वरुप माओवादीलाई एकपछि अर्को धक्का लाग्दै जान थाल्यो ।
३ आन्तरिक द्वन्द्वको असर :
मधेश प्रदेशमा रहेका केन्द्रिय नेताहरुले गुट बनाउन सुरु गरेपछि आम जनतामा यसको नकारात्मक प्रभाव परिरह्यो । अभद्र जिल्ला कमिटिहरु बन्नु,कसलाई कुन कमिटिमा राख्दा उपयुक्त हुने हिसाबै नगरी गोजी र पकेटको समर्थकहरुलाई कहाँ राख्दा पार्टीलाई दुहनी गाई बनाई रहने प्रवृति ह्वातै बढ्यो र अहिलेसम्म त्यो प्रवृति हट्न सकेको छैन । पुर्व जनमोर्चा र माओवादी एकिकरण भएपछि दुई पार्टीका नेता कार्यकर्ताबीच मन माजिएको एकता नहुँदा एउटा गुटले अर्को गुटलाई हराउन हराउन कुनै घटिया कर्तुत बाँकी राखेन । यहि प्रवृतिले विकृतिको रुप लिएपछि जित हासिल गरेका स्थानीय तहका पालिकाहरु यसपटक गुमाएको उदाहरण सिरहा जिल्ला नै हो । सिरहा सप्तरी लगायतका मधेशका जिल्लाहरुमा गुटफुटले कोरोना महामारी जस्तो समस्या माओवादी पार्टीमा पैदा गरिरहयो । तर,त्यस महामारीलाई नियणत्रणमा लिइने कार्य जिम्मेबार नेतृत्वबाट भएन ।
४ नीजि सम्पति आर्जन गर्न सरकारमा जान अस्वस्थ्य प्रतिस्पर्धा :
माओवादी सरकारमा गएपछि एमालेभन्दा फरक किसिमले काम गर्ने जन चाहना अनुसार कमा गर्न सकेन । सरकार र सत्तामा सहभागी भएका मन्त्रीहरुको शैली र बोली नै फेरियो । सर्वहारा वर्गको मुक्तिको लागि गएकाहरु आफै नीजि सम्पति जोर्न जस्तो सुकै घिनौना हर्कतमा लागि रहे । एकपटक मन्त्री भएकाहरु सबैले काठमाण्डौमा घर घडेरी जोर्न भ्याए । गाउँमा पढिरहेका छोरा छोरीलाई शहर भित्र्याएर कुलिन वर्गमा दर्ज हुन पुगे । क्रान्तिकारी छवि रहेन । जुन जोगी आएपनि कानै चिरेको भनाई माओवादी नेताको कामबाट देखिदा समर्थकहरुपनि आशा मारेर निस्क्रिय भए ।
५ बाम एकता हुँदा उत्साह फुट्दा फेरि निरास :
एमाले र माओवादी मिलेर बनेको बाम गठबन्धनले झण्डै झण्डै दुई तिहाई बहुमत जनताले दिइयो । सबै बाम एक ठाम भएपछि समाजवादको यात्रामा लाग्यो भनेर आम समर्थक जनता उत्साहित थिए । तलका एमाले र माओवादी समर्थक मतदाताहरु खुसी भएका थिए। तर प्रचण्ड केपी ओली र माधव नेपाल मिलेर देशको निकास र विकास गर्छ भने मनसुवा राखेका थिए । तर फुटको अवस्थामा ल्याउन केपी ओलीको हठ बाधक भएपनि पार्टी विभाजन गर्न प्रचण्ड र माधव नेपाल पनि जिम्मेबार हुन नसकेको चर्चा अझैपनि जन मानसमा रहेको छ । बाम एकता हुँदा उत्साह भएका समर्थहरु पार्टी फुट्दा निरास भएकै हो । २०७९ को चुनावपछि एमाले र माओवादी मिलेर सरकार गठन हुँदा फेरि सहि ट्रायकमा आयो भने जनमानसमा उत्साह देखियो । प्रचण्ड र ओलीबीचको सम्बन्ध बिग्रेपछि एमाले माओवादी अलग भयो । माओवादी काँग्रेस सम्बन्धमा फेरि दरार पैदा हुने खतरा कोशी प्रदेशको सरकार गठनबाट देखिन थालेको छ । अब प्रचण्ड र ओलीको नेतृत्व हटाएर भएपनि फेरि बाम एकताको लागि कहिले नफुट्ने एकताको लागि एमाले माओवादी लगायतका बामपन्थीहरु एक हुने संकेतहरु पनि देखिन थालेको छ ।
जनजनमा माओवादी घरघरमा माओवादी विशेष रुपान्तरण अभियान लिएर माओवादी नेताहरु गाउँ टोला पसेका छन् । यस अभियानको माध्यमबाट गलती कमजोरी सुधारेर अघि बढ्ने प्रयासमा लागेका छन् । यो अभियानको माध्यमबाट सँगठनमा उर्जा भर्नु राम्रो सुरुवात हो । तर,यस अभियानले वृहत्तर बाम एकताको पहल थाल्नुपर्छ भने सन्देस प्रवाह गर्न बाम समर्थकहरुले राख्न चुक्नु हुँदैन । एमाले माओवादी र एकिकृत समाजवादी सबै मिलेर समाजवादको बाटोमा अघि बढ्न जरुरी छ । यस्तो बातावरण बनाउन नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर कि पुरानो पुस्ताको नेताहरु एक भएर अघि बढ भने सुझाब दिन जरुरी छ । एमाले माओवादी र समाजवादी फुटेर कहिलेपनि एकल सरकार बनाउन सक्ने परिस्थिति छैन । एक भएर आयो भने दुई तिहाई पनि संभव छ । मधेशमा पनि जमिनी समर्थकहरुको सुझाव यस्तै रहेको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A