फिरोज सिद्दिकी
लहान — नेकपा एमाले नगर कमिटी लहानले लहान नगरपालिका र वडा कार्यालयहरूद्वारा भइरहेका जनविरोधी गतिविधिहरूको तत्काल अन्त्य गर्न चेतावनी दिएको छ। मंगलबार सम्पन्न नगर कमिटीको ४३औं बैठकमा यसबारे गम्भीर छलफल भएको थियो। बैठकमा सहभागीहरूले नगरपालिकाको जनविरोधी क्रियाकलापले जनतालाई प्रत्यक्ष प्रभाव पारेको भन्दै सुधार नभए सशक्त संघर्षमा जाने निणर्य गरेका छन्।
बैठकले लहानका मेयर महेश प्रसाद चौधरी र प्रहरी प्रशासन, विशेषगरी डिएसपीबीचको मिलेमतोले जनतामाथि भइरहेको दमन र उत्पीडनको कडा विरोध गर्दै, त्यस्ता गतिविधिहरू तुरुन्त बन्द गर्न आग्रह गरेका छन्।
नेकपा एमाले लहान नगर कमिटीका अध्यक्ष राजकुमार साहका अनुसार, यदि यी गतिविधिहरू तत्काल रोकिएनन् भने पार्टीले जनताको हितमा सशक्त संघर्ष गर्ने योजना बनाएको छ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा क्षेत्र नं १ का इन्चार्ज रामरति रामको प्रमुख आतिथ्यमा सम्पन्न भएको बैठकमा आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ को आय-व्यय सर्वसम्मतिले पारित गरिएको छ। साथै, वडा, नगर कमिटी तथा सदस्यहरुलाई थप सुदृढ र सक्रिय बनाउने निणर्य गरिएको जनाइएको छ । बैठकको अन्त्यमा आयोजक लहान १५ नं वडा कमिटीलाई विशेष धन्यवाद दिइएको थियो।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A