लहान नगरप्रमुख महेश प्रसाद चौधरीले सामाजिक सञ्जालमार्फत व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितका लागि काम गर्ने अपील गर्नु भएको छ। उहाँले स्रोतसाधनको सीमाभित्र रहँदै सामूहिक स्वार्थ पूरा गर्न तयार रहेको बताउनु भएको छ। यद्यपि, जनगुनासोले स्पष्ट संकेत गर्छ कि नगरप्रमुखको व्यवहार र नेतृत्वमा ठूला खोटहरू छन्।
निर्वाचनका क्रममा नगरवासीलाई दिएका ठूला आश्वासन र भाषणहरू अहिले कार्यान्वयनको पर्खाइमा छन्। "म जितेपछि यो गर्छु, त्यो गर्छु" भन्ने वाचा नगरप्रमुखको लागि मात्र चुनावी रणनीति भएको देखिन्छ, जबकि जितेपछि तिनलाई व्यवहारमा उतार्न असफल भइरहेका छन्। यसले गर्दा नगरवासीमा भ्रम र निराशा पैदा भएको छ।
प्रश्न यो उठ्छ कि नगरमा विकास कसले रोकेको छ? जनताको भनाइमा, यो अवरोधको प्रमुख कारण नगरप्रमुखको 'प्रतिसोधको भावना' हो। विकासको कार्यमा व्यक्तिगत द्वन्द्व र प्रतिसोधको राजनीति मिसिँदा, नगरको समृद्धि पछाडि धकेलिएको छ। नेतृत्वले व्यक्तिगत स्वार्थभन्दा नगरको दीर्घकालीन हितलाई अगाडि राख्नुपर्नेमा, नगरप्रमुख चौधरीले केही स्वार्थी सल्लाहकारहरूको प्रभावमा परेर निर्णय गर्दै आएका छन्। यो स्थिति अत्यन्त दुःखदायी छ, किनकि नगरप्रमुखको प्राथमिक भूमिका नगरको समृद्धि र जनताको हितका लागि काम गर्नु हो।
नगरप्रमुख चौधरीले आफूले सार्वजनिक रूपमा गरेका प्रतिबद्धताहरूको पुनर्मूल्यांकन गर्दै, नगरवासीको आशा अनुरूप काम गर्नुपर्ने आवश्यकता छ। सल्लाहकारहरूको प्रभावमा परेर विकास कार्यमा ढिलाइ गर्नु नगरवासीलाई धोका दिनु हो। लहान नगरको भविष्यका लागि प्रतिसोध होइन, सहकार्य र सकारात्मक सोच आवश्यक छ।
अतः कुनै पनि नगरको प्रगति नेतृत्वमा निर्भर गर्छ। यदि नेतृत्वले सही निर्णय लिन र जिम्मेवारी वहन गर्न सक्दैन भने, नगरवासीको निराशा बढ्नु स्वाभाविक हो। नगरप्रमुखले अब समयमै आफ्ना कमजोरीहरू सुधार्नुपर्ने बेला आएको छ। विकासको गति रोकिनु हुँदैन र नगरवासीको भरोसा कायम राख्न, नगरप्रमुखले तात्कालिक रूपमा ठोस कदम चाल्न जरुरी छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A