फिरोज सिद्दिकी
सिरहा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सिरहाले स्थानीय तहमा पार्टीको एकता र सहकार्यलाई बलियो बनाउने उद्देश्य राख्दै भगवानपुर गाउँपालिकामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
शनिबार, गाउँ कमिटी अध्यक्ष सूर्यप्रसाद यादवको अध्यक्षतामा भएको यस कार्यक्रमका प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य, मधेस प्रदेश इन्चार्ज तथा संघीय सांसद लिलानाथ श्रेष्ठ रहनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले जनताको कामलाई प्राथमिकतामा राखेर काम गर्न यस क्षेत्रका जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो।
उहाँले विकासका लागि सबै पार्टी एकताबद्ध हुनुपर्ने र जनतालाई सेवा गर्ने व्यक्तिलाई नै जनता भोट दिने बताउनुभयो। श्रेष्ठले विकासका लागि एकअर्कालाई गालीगलोज नगरी मिलेर काम गर्न आवश्यक रहेकोमा जोड दिनुभयो।
यसैबीच, सिरहा क्षेत्र नं १ का सांसद रामशंकर यादवले बलान नदी नियन्त्रणका लागि तीन करोड रुपैयाँको बजेट व्यवस्था गरेको जानकारी दिनुभयो। कार्यक्रममा अन्य बक्ताहरुले पनि जनताको आवश्यकतालाई ध्यानमा राखेर काम गर्नुपर्नेमा जोड दिए।
विशिष्ट अतिथिहरूमा सिरहा जिल्ला इन्चार्ज एवं संघीय सांसद गगाप्रसाद यादव, केन्द्रिय सदस्य तथा क्षेत्र नं १ का क्षेत्रीय इन्चार्ज रामरती राम, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा पूर्व लहान नगर प्रमुख मुनि साह, मधेस प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरी, प्रदीप चौधरी, इस्लाम अली लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
जिल्ला कमिटी सचिव तथा भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादव, जिल्ला कमिटी सचिवालय सदस्य देव नारायण साह, रामसुन्दर यादव, अशोक मण्डल, रियासत लिमि, चन्देश्वर साह, लहान नगर अध्यक्ष राजकुमार साह, भगवानपुर गाउँपालिका उपाध्यक्ष मिरा देवी यादव लगायतका विभिन्न तहका नेताहरु तथा वडा अध्यक्षहरु पनि कार्यक्रममा सहभागी थिए।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १०० भन्दा बढी व्यक्तिहरू एमालेमा प्रवेश गरेका थिए।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A