कर्जन्हाका पूर्वमेयर गंगा पासवानसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

  • कार्तिक ३०, २०८१
  • समृद्धिपथ
alt

सिराहा । सिराहाको कर्जन्हा नगरपालिकाका पूर्वमेयर गंगा पासवानसहित पाँच जनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। नगरपालिकाको प्रशासनिक भवन निर्माणसम्बन्धी ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको ठहरसहित अदालतले यो निर्णय सुनाएको हो।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, दोषी ठहर हुनेमा पूर्वमेयर पासवान, प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादव छन्।

विशेष अदालतका सदस्य खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले मंगलबार र बुधबार सुनुवाइपछि दोषीहरूमाथि आर्थिक क्षतिपूर्ति र सजाय निर्धारण गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिगो बमोजिमको १ करोड ८ लाख रुपैयाँ असुल्नुपर्ने ठहर गर्दै दोषीहरूमध्ये प्रत्येकबाट २१ लाख ६० हजार रुपैयाँ असुल्ने आदेश दिएको छ।

अदालतले दोषीहरूमाथि २ वर्ष ६ महिनादेखि ४ वर्षसम्म कैद सजाय हुन सक्ने उल्लेख गर्दै आगामी मंसिर १० गते सजाय निर्धारण गर्ने समय तोकेको छ।

कर्जन्हा नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ मा प्रशासनिक भवन निर्माणका लागि ठेक्का आह्वान गरेको थियो। तर, उच्च अदालत जनकपुरको राजविराज इजलासले कार्यालय स्थानान्तरण नगर्नू भनी आदेश दिए पनि, मेयर गंगा पासवान र प्रशासकीय अधिकृत जगदीश मण्डलले आदेशको उल्लंघन गर्दै निर्माण प्रक्रिया अघि बढाए।

नगरपालिकाले भवन निर्माणका लागि पेस्कीस्वरूप १ करोड ८ लाख रुपैयाँ महालक्ष्मी कन्ट्रक्सन एण्ड ड्रेगन जेभीलाई उपलब्ध गराएको थियो। तर, ठेकेदारले काम नगरेको पुष्टि हुँदाहुँदै पनि नगरपालिकाले जमानत जफत नगरेको पाइएको छ।

विशेष अदालतले नगरपालिकाले सार्वजनिक खरिद ऐनको उल्लङ्घन गरेको ठहर गरेको छ। बिना पर्याप्त प्रक्रिया वडा नम्बर ५ मा कार्यालय स्थानान्तरण गराउँदै भवन निर्माणका लागि ठेक्का आह्वान गरिएको थियो।

यो प्रकरणले स्थानीय तहमा सुशासनको अभाव र भ्रष्टाचारका घटना सार्वजनिक गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता पुनः पुष्टि गरेको छ। अदालतको यो निर्णयले सार्वजनिक सम्पत्तिको दुरुपयोगमा संलग्न व्यक्तिहरूलाई कारबाहीको सन्देश दिएको छ।

नगर उपप्रमुखद्वारा क ...

लहान । लहान नगरपालिकामा कार्यरत कर्मचारीहरूले नगर उपप्र ...

पद्मोदय फाउन्डेसनद्व ...

फिरोज सिद्दिकी  लहान । अन्तर्राष्ट्रिय अपाङ्ग दिव ...

क्यान महासंघ सिरहा श ...

फिरोज सिद्दिकी  लहान । कम्प्युटर एसोसिएसन नेपाल म ...

लक्ष्मीपुर पतारी वार ...

फिरोज सिद्दिकी  लहान । लक्ष्मीपुर पतारी वार्ड नं. ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A