काठमाडौं । सामाजिक सञ्जालमा भ्रामक र आपत्तिजनक सामग्री पोस्ट गरेको आरोपमा प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका-६ निकोशेराबाट दुर्गा प्रसाद प्रसाईलाई पक्राउ गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ गरि दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको हो।
मेडिकल व्यवसायी प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको आरोप लगाउँदै कागजपत्रहरु सार्वजनिक गरेका थिए। उनले सार्वजनिक गरेको कागजपत्र किर्ते रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, प्रसाईले आफ्नो व्यक्तिगत फेसबुक खाता र "अपडेट सेरोफेरो" नामक फेसबुक पेजमार्फत सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद शर्मा (के.पी. शर्मा ओली)सँग सम्बन्धित आधारहीन र भ्रामक सामग्री सार्वजनिक गरेको आरोप छ। उक्त सामग्रीले सार्वजनिक नैतिकता, शिष्टाचार र सामाजिक सद्भावमा असर पुर्याएको जनाइएको छ।
काठमाडौं जिल्ला अदालतको अनुमति लिएर प्रहरीले मिति २०८१ मंसिर ४ गते भक्तपुरस्थित प्रसाईको घरबाट उनलाई पक्राउ गरेको हो। अनुसन्धानका लागि उनलाई साइबर ब्यूरो, भोटाहिटी, काठमाडौंमा पठाइएको छ।
प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले घटनाको पुष्टि गर्दै विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत प्रसाईमाथि कानुनी कारबाही अघि बढाइने बताएका छन्। प्रहरीले सामाजिक सञ्जालमा भ्रामक सामग्री प्रचार-प्रसार गर्ने गतिविधिमाथि कडा निगरानी राख्ने र दोषीमाथि कारबाही गर्ने बताएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A