लहान । लहान नगरपालिकाका उपमेयर रामचरित्र महतोले मेयर महेश चौधरीविरुद्ध गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।
महतोले सामाजिक सञ्जालमा लेख्दै आफूलाई बारम्बार षड्यन्त्रको शिकार बनाइँदै आएको दाबी गरेका हुन्।
उनका अनुसार, यसअघि जस्तापाताको वितरणका बेला षड्यन्त्र गरिएको थियो भने अहिले एउटा सामान्य फाइलमा हस्ताक्षर गरेको आधारमा आफूलाई फसाउने प्रयास भइरहेको छ। उनले आफ्नो पोस्टमा लेखेका छन्, "यो कस्तो तानाशाही हो, मेयर महेश चौधरीको? कति सम्म गर्दोरहेछ हेर्नुपर्छ केही समय।"
महतोले नगरपालिकाको कामकारबाहीमा निष्पक्षता र सहकार्यको अभाव रहेको संकेत गर्दै लेखेका छन्, "एउटा सामान्य फाइलमा हस्ताक्षर गरेको बापत धेरैकुरा मलाई चुकाउनुपर्छ, मलाई राम्रोसँग थाहा छ।" उनले आगामी दिनमा पनि आफूलाई फसाउन षड्यन्त्र गरिने आशंका व्यक्त गरेका छन्।
उपमेयर महतोको यो अभिव्यक्तिले लहान नगरपालिकामा मेयर र उपमेयरबीचको विवादलाई सतहमा ल्याएको छ। यसले नगरपालिकाको आन्तरिक प्रशासनमा देखिएको असमझदारी र नेतृत्वबीचको तनावलाई प्रस्ट पार्छ।
उपमेयर महतोले मेयरको तानाशाही शैलीप्रति असन्तुष्टि जनाउँदै जनताको काममा अवरोध सिर्जना नगर्न आग्रह गरेका छन्। उनले नगरपालिकामा समन्वय र सहकार्यको वातावरण आवश्यक रहेको र जनताको हितका लागि काम गर्ने सबैले पारदर्शी र सकारात्मक सोच राख्नुपर्ने बताए।
यस विषयमा मेयर महेश चौधरीको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन। यद्यपि, यस घटनाले स्थानीय राजनीतिमा चर्चा र चासो बढाएको छ। यता नगरबासीले दुवै पक्षलाई संयमता अपनाई नगरपालिकाको हितका लागि सहकार्य गर्न आग्रह गरेका छन्।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A