काठमाडौँ, शुक्रबार । व्यवस्थाको विरोध गर्दै राजावादीहरूद्वारा आयोजित प्रदर्शनमा झडप भएको छ। तीनकुनेबाट निषेधित क्षेत्र बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।
झडपका क्रममा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ भने प्रदर्शनकारीले ढुङ्गा हानेका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा समेत प्रहार गरेको छ। प्रदर्शनकारीहरूले ब्यारिकेड तोड्दै बानेश्वर प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीका अनुसार झडपमा संलग्न चार जनालाई नियन्त्रणमा लिइएको छ। झडपका कारण तीनकुनेमा जारी कार्यक्रम प्रभावित भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन लावतीका अनुसार प्रहरी हस्तक्षेपका कारण मञ्च बनाएर गरिएको कार्यक्रममा नेताहरूको सम्बोधन अवरुद्ध भएको छ। मञ्च नजिकै अश्रुग्यास प्रहार भएपछि केही समयका लागि कार्यक्रम रोकिएको उनले बताए।
राजावादी प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको तनाव कायमै रहेको छ भने सुरक्षाका लागि बानेश्वर क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A