गाँस, बास र कपासजस्तै यौनेच्छा पनि मानिसको आधारभूत आवश्यकता हो। मानव जीवनमा यौन सम्बन्धित इच्छा केवल आनन्द वा सन्तान उत्पत्तिसँग मात्र सम्बन्धित छैन, यो स्वास्थ्य, आत्मविश्वास, सम्बन्धको गहिराई र मानसिक सन्तुलनसँग पनि गहिरो सम्बन्ध राख्दछ। तर हाम्रो समाजमा अझै पनि यौनका विषयमा खुला रूपमा कुरा गर्न लाज मानिन्छ। यसैबीच, गलत खानपान, तनाव, अस्वस्थ जीवनशैली र मानसिक समस्याले गर्दा पुरुषहरूमा यौन समस्याहरू तीव्र रुपमा देखिन थालेका छन्। यौन इच्छामा कमी, शीघ्र स्खलन, लिंगमा उत्तेजना नआउनुजस्ता समस्याहरू आम देखिन्छन्।
यहाँ यस्ता १० उपायहरू प्रस्तुत गरिँदैछ, जसले यौन समस्याहरूको समाधान मात्र होइन, यौन शक्ति पनि उल्लेखनीय रूपमा वृद्धि गर्न मद्दत गर्छ।
१) नियमित व्यायाम
व्यायामले शरीरमा रक्तसञ्चारलाई सन्तुलित बनाउँछ, हर्मोन सन्तुलनमा राख्छ र शरीरलाई ऊर्जाशील बनाउँछ। विशेषतः केगल्स एक्सरसाइजले यौनांग वरपरका मांसपेशीलाई मजबुत बनाउँछ। यसले शीघ्र स्खलन रोक्न, इरेक्शनलाई बलियो बनाउने, र समग्र यौन कार्यक्षमता सुधार्न सहयोग पुर्याउँछ। साथै कार्डियो एक्सरसाइज, योग, दौड, तैराकी जस्ता गतिविधिहरूले शरीरलाई चुस्त-दुरुस्त बनाउँछन्।
२) ध्यान र योगाभ्यास
तनाव, चिन्ता र मानसिक अशान्तिले यौन क्षमतामा प्रत्यक्ष प्रभाव पार्दछ। नियमित ध्यान र प्राणायाम तथा योगाभ्यासले मानसिक सन्तुलन कायम राख्छ, आत्मविश्वास बढाउँछ र यौनिक उत्तेजना सन्तुलित राख्न सहयोग पुर्याउँछ। विशेष योगासनहरूमा भुजङ्गासन, पश्चिमोत्तानासन, हलासन, सर्वाङ्गासन र मुष्टिका बन्ध समावेश गर्न सकिन्छ।
३) टेस्टोस्टेरोन बढाउने आहार
टेस्टोस्टेरोन एक प्रमुख यौन हर्मोन हो, जसको कमीले यौन इच्छा घट्न सक्छ। यसलाई बढाउने पोषक तत्वहरू युक्त खानाहरूमा विशेष ध्यान दिनुपर्छ। खानपानमा अण्डा, माछा, कुखुरा, बदाम, अखरोट, काजु, पालुङ्गो, ब्रोक्कोली, लसुन, केरा, अनार र चुकन्दर जस्ता खाद्य वस्तुहरू समावेश गर्नुपर्छ।
४) आयुर्वेदिक औषधी र सप्लिमेन्ट
प्राचीन आयुर्वेदमा यौन स्वास्थ्यका लागि अनेकौ औषधीहरूको उल्लेख छ। यिनीहरू प्राकृतिक रूपमा हर्मोन सन्तुलनमा राख्ने, वीर्यवृद्धि गर्ने र यौन शक्तिमा सुधार ल्याउने मानिन्छ। प्रमुख औषधीहरूमा अश्वगन्धा, शीलाजीत, गोक्षुर बीज, मुसली, यार्सागुम्बा, अकरकरा, अमला र कपिकच्छु पर्दछन्। सप्लिमेन्टमा ओमेगा ३ फ्याटी एसिड, कड लिभर ओयल, भिटामिन ई, भिटामिन D आदि चिकित्सकको सल्लाहमा सेवन गर्नु उपयुक्त हुन्छ।
५) धूम्रपान र मद्यपानको परित्याग
चुरोट, रक्सी, सूर्ती र अन्य नशालु पदार्थहरू वीर्य उत्पादनमा कमी ल्याउने, लिंगमा रक्तसञ्चार कम गर्ने र यौन इच्छा घटाउने प्रमुख कारक हुन्। यी दुर्व्यसनहरू यौन जीवनलाई नष्ट गर्न सक्छन्। तसर्थ, यस्ता बानीहरूको त्याग आवश्यक छ।
६) पाचन प्रणालीको सुधार
स्वस्थ पाचन प्रणालीले पोषक तत्वको अवशोषण राम्रो बनाउँछ, जुन यौन स्वास्थ्यका लागि अनिवार्य छ। अपच, कब्जियत वा पेट बिग्रिएको अवस्थामा शरीर कमजोर हुन्छ र यौन क्षमतामा असर पर्छ। नियमित रूपमा फाइबरयुक्त खाना, सागसब्जी, फलफूल, पानीको पर्याप्त सेवन, र जंक फूड, मैदा, चिल्लो परिकारको नियन्त्रणले पाचन तन्दुरुस्त रहन्छ।
७) अनुशासन र ब्रह्मचर्यको पालन
प्राचीन वैदिक दृष्टिकोण अनुसार, यौन क्रियामा अनुशासनको पालनले मानसिक, शारीरिक र आत्मिक सन्तुलन राख्न मद्दत गर्दछ। बिना आवश्यकताका बारम्बार यौन सम्पर्क वा हस्तमैथुनजस्ता क्रियाले कमजोरी निम्त्याउन सक्छ। ब्रह्मचर्यको अनुसरणले वीर्य शक्ति बढाउँछ, स्मरण शक्ति र आत्मबल मजबुत बनाउँछ।
८) सकारात्मक सोच र आत्मविश्वास
सकारात्मक सोच र आत्मबल यौन जीवनमा गहिरो प्रभाव पार्दछ। आफूलाई कमजोर सम्झने, आत्मग्लानि वा डरले यौन प्रदर्शनमा समस्या आउन सक्छ। सकारात्मक सोच, आत्मविश्वास र सम्बन्धमा खुलापनले यौन जीवन स्वस्थ राख्दछ।
९) नियमित निद्रा
प्रत्येक रात कम्तिमा ७–८ घण्टा राम्रो निद्रा आवश्यक हुन्छ। निद्राको कमीले तनाव बढाउँछ, हर्मोन सन्तुलन बिगार्छ र यौन इच्छामा कमी ल्याउँछ। निद्रा गुणस्तरीय बनाउने उपायहरूमा नियमित सुत्ने समय, मोबाइल वा टिभी कम हेर्नु, र क्याफिनयुक्त चिया-कफी कम गर्नु पर्दछ।
१०) सम्बन्धमा संवाद र समझदारी
दाम्पत्य सम्बन्धमा यौन समस्याहरूलाई लुकाउने होइन, साझेदारसँग खुलेर कुरा गर्नु महत्वपूर्ण हुन्छ। विश्वास र समझदारीले मात्र यौन जीवन सुखद बन्छ। अपूरो जानकारी, डर वा संकोचले समस्या झन् जटिल हुन सक्छ।
यौन स्वास्थ्य कुनै एक पक्षमा भर पर्ने कुरा होइन। यसका लागि शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन, सही आहार, राम्रो व्यवहार र सामाजिक समझदारी आवश्यक हुन्छ। माथिका उपायहरू नियमित रुपमा अपनाउँदा यौन समस्याबाट मुक्ति पाइ आत्मविश्वासपूर्ण यौन जीवन जिउन सकिन्छ। यदि समस्याहरू गम्भीर छन् वा लामो समयसम्म भइरहेकै छन् भने योग्य यौन चिकित्सक वा आयुर्वेद विशेषज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A