सिरहा । चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी सिरहा निवासी आनन्दीदेवी सदायको मृत्यु प्रकरणमा प्रहरीले छानबिन समिति गठन गरेको छ। मधेस प्रदेश प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यका अनुसार घटनाको गम्भीरताका कारण विशेष समिति बनाइएको हो।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाको नेतृत्वमा गठित छानबिन समितिमा इन्स्पेक्टर विक्रम शाह र एक जना सहायक हवलदार सदस्य छन्। डीआईजी आचार्यका अनुसार समितिलाई मृत्युअघिको घटनाक्रम, प्रहरी प्रशासनको भूमिका तथा मृत्युको कारणबारे विस्तृत अनुसन्धान गर्न कार्यादेश दिइएको छ।
२५ वर्षीया आनन्दीदेवी सदाय वैशाख २ गते नवराजपुर गाउँपालिका–३, दोनबारी टोलस्थित माइतीघरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। यसअघि पुस ९ गते उनी बरियारपट्टि गाउँपालिका–१ कचनारीस्थित दिदीको घरतर्फ जाँदै गर्दा नरहा गाउँपालिका बर्छवामा दुई युवाले बगैँचामा लगेर बलात्कार गर्न प्रयास गरेका थिए।
उक्त घटनापछि सदायले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा किटानी जाहेरी दिएकी थिइन्। तर, प्रहरीद्वारा जाहेरी समयमै दर्ता नगरिएको र अनुसन्धानमा लापरबाही गरिएको आरोप परिवार र स्थानीयबासीले लगाएका छन्।
“जाहेरीको तत्काल दर्ता हुनुपर्नेमा ढिला गरियो, अनि आरोपीलाई अहिलेसम्म पक्राउ गर्न नसकिएको अवस्था गम्भीर हो,” डीआईजी आचार्यले बताए। उनका अनुसार प्रहरी प्रशासनको बेवास्ता तथा पीडितमाथिको न्यायिक अपहेलनाबारे विस्तृत अध्ययन गरेर प्रतिवेदन पेश गरिनेछ।
सदायले जाहेरी दिएका दुई युवालाई प्रहरीले अझै पक्राउ गरेको छैन। पीडितका आफन्तले प्रहरीमाथि मिलेमतोको आशंकासमेत व्यक्त गरेका छन्। घटनापछि स्थानीय तहका महिला अधिकारकर्मी, नागरिक समाज र विभिन्न संघसंस्थाहरूले निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गरेका छन्।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A