फिरोज सिद्दिकी
सिरहा । लहान नगरपालिका वडा नम्बर १६ मा २५ लाख रुपैयाँको लागतमा निर्माण भएको मलामी विश्राम स्थलमा ठूलाे भ्रष्टाचार भएको आशंका स्थानीय बासिन्दाले व्यक्त गरेका छन्।
जस्तापाताको सानो सेड जस्तो देखिने यो संरचना बुधबार नगर प्रमुख महेश चौधरीले उद्घाटन गर्दै यो २५ लाखको लागतमा निर्माण भएको बताए पछि स्थानीय आक्रोशित भएका हुन्।
स्थानीयहरूका अनुसार सो विश्रामस्थल मुस्किलले दुई–तीन लाख रुपैयाँमै बन्न सक्थ्यो। तर यसमा २५ लाख रुपैयाँ खर्चिएको देखाइनु भ्रष्टाचारको स्पष्ट संकेत भएको उनीहरूको आरोप छ।
“यस्तो सानो काममा यति धेरै चलखेल हुन्छ भने ठूला योजनामा कति कमिसन खाइरहेका होलान्, सहजै अनुमान गर्न सकिन्छ,” स्थानीय राधेश्याम साह भन्छन्।
वडा अध्यक्ष गरुलबहादुर जर्खा मगर र मेयर चौधरीको मिलो मतोमा यस्तो आर्थिक अनियमितता भएको स्थानीयहरूको ठम्याइ छ। उनीहरूले यस्तो कार्यले लहान नगरपालिकामा कमिसन र भ्रष्टाचारको चरम स्थिति पुष्टि गरेको बताउँछन्।
यो घटनाले लहान नगरपालिकाको नेतृत्वमाथि गम्भीर प्रश्न उठाएको छ। मेयर चौधरीमाथि यसअघि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी राख्दै आएको थियो। हालैको घटनापछि वडा नम्बर १६ का आक्रोशित बासिन्दाहरूले अख्तियारमा उजुरी दिने तयारी गरिरहेका छन्।
यो विषयमा लहान नगरपालिकाले आधिकारिक धारणा सार्वजनिक गरेको छैन। यद्यपि स्थानीयले पारदर्शिता र जवाफदेहिताको माग गर्दै यथाशीघ्र छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
यसरी जनताको पैसामा खेलवाड गर्ने अभ्यास बन्द नगरेसम्म जनविश्वास सरकारप्रति कहिल्यै फर्कन सक्नेछैन भन्ने सन्देश स्थानीयहरूले दिएका छन्।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A