सिराहा । सिराहाको जिल्ला सदरमुकामस्थित प्रादेशिक अस्पतालमा शुक्रबार बिहान स्थानीय युवाहरूको समूहले गरेको तालाबन्दी प्रहरीले तत्काल खुलाएको छ। अस्पताल सुधारका मागसहित तीन दिनअघि अस्पताल प्रशासनलाई अल्टिमेटम दिए पनि बेवास्ता गरेको आरोपमा युवाहरूले अस्पताल प्रशासन खुल्नुअघि नै तालाबन्दी गरेका थिए।
८ वैशाखमा अस्पताल प्रशासनलाई २२ बुँदे मागपत्र बुझाएका स्थानीय युवाहरूले अस्पताल विकास समितिका अध्यक्ष सोहिन्द्रप्रसाद यादव र मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. सुनीलप्रसाद कुशवाहको कार्यकक्षमा तालाबन्दी गरेका थिए। तर, तालाबन्दी भएको केहीबेरमै प्रहरीले हस्तक्षेप गर्दै कार्यालयको ताला खोलिदिएको हो।
सिराहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विश्वप्रकाश अर्यालले युवाहरूले अघि सारेका मागबारे बिहीबार अस्पताल प्रशासन, विकास समिति र युवाहरूको सहभागितामा छलफल भइसकेको जानकारी दिए। "मागलाई तत्काल गर्न सकिने, दीर्घकालीन रुपमा गर्न सकिने र अधिकार क्षेत्रबाहिर पर्ने गरी वर्गीकरण गर्ने सहमति भएको थियो," उनले भने, "त्यसैका आधारमा सोमबार (१५ वैशाख) पुनः छलफल गर्ने तय भएको हो।"
उनले सहमति उल्लंघन गर्दै तालाबन्दी गरिएको भन्दै प्रशासनले बाध्य भएर ताला खोलेको स्पष्ट पारे।
अस्पताल विकास समितिका अध्यक्ष यादवले अस्पतालमा सुधारका लागि स्रोत र जनशक्तिको अधिकतम प्रयोग गरिरहेको बताए। "तर, केही मागहरू संघीय वा प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्छन्," उनले भने, "सेवा सुधारको नाममा कर्मचारीलाई गालीगलौज र धम्की दिनु अनुचित हो। त्यसलाई तुरुन्त रोक्नुपर्छ।"
स्थानीय युवाहरूका माग के छन्?
युवाहरूले अस्पतालको सेवा प्रवाहमा पारदर्शिता, चिकित्सकहरूको नियमित उपस्थिति सुनिश्चित गर्नुपर्ने, अस्पताल फार्मेसीबाट वितरण हुने औषधिको स्टक र विवरण सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।
त्यस्तै, पछिल्लो तीन आर्थिक वर्षमा खरिद गरिएका औषधि तथा प्रयोगशाला सामग्रीको विवरण, म्याद सकिएका औषधिको सूची, ओसिएमसीमार्फत सेवा लिएका बिरामी र खर्चको विवरण पनि सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ।
अन्य मागहरूमा अस्पतालका सम्पूर्ण कर्मचारीको नामावली र नियुक्तिसम्बन्धी कागजात, अस्पताल उपकरणको अवस्था, सटर, झ्याल, ढोका, औषधि काउन्टर र फार्मेसी काउन्टरबाट उठेको रकमको विवरण सार्वजनिक गर्ने कुरा उल्लेख छ।
यसबाहेक, निःशुल्क र शुल्क लाग्ने औषधिको विवरण, तीन वर्षको बैंक स्टेटमेन्ट, चिकित्सक र कर्मचारीको मासिक तलबभत्ताको पारदर्शिता, ड्रेस कोड लागू, समय तालिकासहित सूचनापाटीमा टाँस गर्ने, ब्लड बैंक र विद्युत् व्यवस्थापन, अस्पताल स्तरीकरणका मापदण्ड सार्वजनिक गर्ने जस्ता माग समावेश छन्।
मेसु र अध्यक्षलाई नियमित कार्यालयमा उपस्थित गराउने, मासिक उपचार सेवा विवरणसहित मृत्युदर्ता, रेफर विवरण, ओपिडी विवरण सार्वजनिक गर्ने र अस्पतालको आम्दानी–खर्च तथा दरबन्दीअनुसार काम नगर्ने कर्मचारीहरूको काज फिर्ता गर्ने माग पनि उठाइएको छ।
यसैबीच, अस्पताल प्रशासनले सोमबार पुनः छलफल गरेर तत्काल र दीर्घकालीन रूपमा सम्बोधन गर्न सकिने मागहरू कार्यान्वयन गर्ने तयारी गरिरहेको जनाएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A