फिरोज सिद्दिकी
सिराहा । यही वैशाख २० र २१ गते नेपालगन्जमा हुने मुस्लिम इत्तेहाद संगठनको ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा किसानहरुको समेत सक्रिय सहभागिता सुनिश्चित गर्न विशेष निमन्त्रणा गरिएको छ।
बाँकेको खजुरा गाउँपालिकामा शुक्रबार सम्पन्न अखिल नेपाल किसान महासंघ बाँकेको अधिवेशनमा सहभागी हुँदै मुस्लिम इत्तेहाद संगठनका नेता तथा मुस्लिम फाँट इन्चार्ज मो. हारुन हलवाईले किसानहरुलाई महाधिवेशनमा उत्साहपूर्वक उपस्थित हुन आग्रह गरे हो।
'किसान हाम्रो समाजको मेरुदण्ड हुन्। उनीहरुको समस्या केवल गाउँको होइन, राष्ट्रिय एजेन्डा बन्नुपर्छ,' नेकपा एमाले केन्द्रीय सदस्य समेत रहेका हलवाईले भने, 'महाधिवेशन एक ऐतिहासिक अवसर हो, जहाँ किसानका आवाज प्रधानमन्त्रीसम्म पुग्नेछ। म किसानका सवालहरूलाई सम्बन्धित तहसम्म पुर्याउने प्रतिबद्धता गर्दछु।'
महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने तयारी भइसकेको छ। सो अवसरमा किसान, उद्योगी, व्यवसायी, पिछडिएको वर्ग, अल्पसंख्यक, थारु, जनजाति र महिलाहरुका समस्याहरूलाई साझा मञ्चबाट बुलन्द आवाज दिने लक्ष्य राखिएको नेता हलवाईले बताए।
'यो महाधिवेशन मात्र कार्यक्रम होइन, परिवर्तनको सुरुवात हो,' उनले जोड दिए।
किसान समुदायलाई औपचारिक निमन्त्रण दिन नेपाल मुस्लिम इत्तेहाद संगठनका कोषाध्यक्ष अब्दुल करिम खान र नेतृ तलत प्रविन खान पनि खजुरा पुगेका थिए। उनीहरुले महाधिवेशनलाई किसान, श्रमिक र सर्वसाधारणका मुद्दा एकसाथ अघि बढाउने महत्वपूर्ण मञ्चका रुपमा व्याख्या गरे।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A