फिरोज सिद्दिकी
नेपालगन्ज, वैशाख १९ गते । नेपाल मुस्लिम इत्तीहद संगठनले आफ्नो सातौं केन्द्रीय महाधिवेशनको सम्पूर्ण तयारी सम्पन्न गरेको छ। महाधिवेशन यही बैशाख २१ गते (शनिबार) बाँके जिल्लाको नेपालगञ्जस्थित 'मेरो प्लानेट' पार्टी प्यालेसमा आयोजना हुनलागेको आयोजकले जनाएको हो।
कार्यक्रमका संयोजक तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य सेराज अहमद फारुकीले महाधिवेशनले संगठनको आगामी कार्यदिशा, मुस्लिम समुदायको अधिकार, प्रतिनिधित्व र राज्यका संरचनामा सहभागिता सुनिश्चित गर्ने विषयमा महत्वपूर्ण निर्णयहरू गर्ने जानकारी दिए।
महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यता रहने जनाइएको छ।
संगठनका मुस्लिम विभाग प्रमुख तथा पार्टीका केन्द्रीय सदस्य हारुन कादरीका अनुसार महाधिवेशनले मुस्लिम समुदायका सांस्कृतिक, शैक्षिक, धार्मिक र सामाजिक सवालहरू उठाउने मात्र होइन, समाधानका दिशामा ठोस योजना प्रस्ताव गर्नेछ। कादरीले भने, “यो महाधिवेशन मुस्लिम समुदायलाई मुख्यधारको राजनीतिमा अझै सशक्त ढंगले प्रस्तुत गर्ने अवसर हुनेछ।”
महाधिवेशनमा देशभरका मुस्लिम नेता, समुदाय प्रतिनिधिहरू, बौद्धिक वर्ग र पार्टीका विभिन्न तहका प्रतिनिधिहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ। संगठनको तर्फबाट नयाँ नेतृत्व चयन, सांगठनिक संरचनाको पुनरावलोकन र कार्यगत रणनीति तय गर्ने कार्यसूची पनि महाधिवेशनमा समावेश गरिएको छ।
महाधिवेशनको बन्द सत्र मेरो प्लानेटको सभा हलमा आयोजना गरिने आयोजकले जनाएको छ।
महाधिवेशनको सफल आयोजनाका लागि संगठनले विभिन्न उपसमितिहरू गठन गरेको छ र सम्पूर्ण तयारीहरू पूरा भएको जनाएको छ।
नेपाल मुस्लिम इत्तेहाद संगठन २०४८ सालमा स्थापना भएको हो। संगठनले मुस्लिम समुदायको हकहितका लागि विभिन्न सामाजिक, शैक्षिक र राजनीतिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A