एजेन्सी
अहमदावाद, भारत । बिहीबार अपराह्न भारतीय राष्ट्रिय ध्वजावाहक कम्पनी एयर इन्डियाको लन्डन ग्याटविकका लागि उडेको विमान (उडान संख्या AI171) टेकअफ गरेको केही क्षणमै दुर्घटनामा परेको छ। विमानमा २४२ जना सवार थिए, जसमा २३० यात्रु र १२ जना चालक दलका सदस्य थिए।
सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट अपराह्न १:३८ बजे उडेको यो बोइङ ७८७–८ ‘ड्रिमलाइनर’ विमानले उडानपछि केही सेकेन्डमै “Mayday” संकेत गरेको थियो। त्यहीबेला विमान रडारबाट हराएको थियो। केही समयपछि विमान अहमदावादको मेघानीनगरस्थित आवासीय क्षेत्रमा ठोक्किएको पुष्टि भएको हो।
दुर्घटनामा मानवीय क्षतिको विवरण प्राप्त भइनसकेको भए पनि प्रारम्भिक रिपोर्टअनुसार दर्जनौं यात्रु घाइते भएको आशंका गरिएको छ। दुर्घटनास्थलमा ठूलो आगलागी भएको छ र आसपासको क्षेत्रमा कालो धुवाँ फैलिएको देखिएको छ। दमकल, एम्बुलेन्स, प्रहरी, र राष्ट्रिय विपद् प्रतिकार्य टोली (NDRF) उद्धार कार्यमा खटिएका छन्।
विमानमा रहेका २४२ मध्ये १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र १ क्यानाडेली नागरिक रहेका छन्। भारत सरकार र बेलायत, क्यानाडा लगायत अन्य सम्बन्धित देशहरूले घटनाको निगरानी गरिरहेका छन् र पीडित परिवारसँग सम्पर्कमा रहेका छन्।
भारतीय गृहमन्त्री अमित शाह र गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले तत्काल उद्धार र राहत कार्यलाई प्राथमिकता दिन निर्देशन दिएका छन्। भारतको नागर विमानन महानिर्देशनालय (DGCA) र विमान दुर्घटना अनुसन्धान निकाय (AAIB) ले घटनाको गम्भीरता पूर्वक अनुसन्धान थालेका छन्।
यो दुर्घटना बोइङ ७८७–८ ड्रिमलाइनर विमानको इतिहासमै पहिलो ‘होल-लस’ (पूर्ण क्षति) दुर्घटना भएको बताइएको छ। विमानका पाइलट क्याप्टेन सुमित सभरवालको ८,२०० घण्टाभन्दा बढीको उडान अनुभव थियो भने सह–पाइलट क्लाइभ कुन्डरको अनुभव १,१०० घण्टा रहेको जनाइएको छ।
दुर्घटनापछि अहमदावाद विमानस्थलबाट हुने सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू अस्थायी रूपमा रोकिएको छ। यात्रुहरूलाई वैकल्पिक उडानका लागि समन्वय गरिँदैछ।
दुर्घटनाको कारणबारे पुष्टि भइनसके पनि प्राविधिक समस्या वा पक्षी ठोक्किने (bird strike) शंका गरिँदैछ। घटनाको विस्तृत जानकारी सार्वजनिक हुने क्रम जारी छ।
दुर्घटनामा परेका सम्पूर्ण यात्रुहरूको सुरक्षाको कामना।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A