काठमाडौं, २९ जेठ । जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। अख्तियारको टोलीले उनलाई राजधानी काठमाडौंको अनामनगरबाट पक्राउ गरेका हुन्।
कुशवाहा महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। उनी मधेश प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीसमेत रहिसकेका छन्।
यसअघि अख्तियारले १२ जेठमा कुशवाहाको घरमा छापा मारेको थियो। छापाको क्रममा अख्तियारले विभिन्न योजना सम्बन्धी कागजातहरू बरामद गरेको थियो भने उनका मोबाइलहरू नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक परीक्षणका लागि पठाइएको थियो।
त्यसै दिन उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई समेत अख्तियारले नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार सांसद कुशवाहाले मधेश सरकारका विभिन्न योजना खरिद तथा बिक्री प्रक्रियामा अनियमितता गरेको आशंकामा अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ।
अख्तियारले कागजात तथा डिजिटल प्रमाणहरूका आधारमा उनीमाथि भ्रष्टाचार तथा लाभको दुरुपयोग सम्बन्धी मुद्दा दायर गर्ने तयारी गरिरहेको बताइएको छ।
सांसद कुशवाहा पक्राउपछि मधेश प्रदेशको राजनीतिक वृत्तमा पनि तरंग उत्पन्न भएको छ। यद्यपि, यसबारेमा कुशवाहा पक्षले औपचारिक प्रतिक्रिया दिएको छैन।
यस घटनाले मधेश प्रदेशमा योजना कार्यान्वयन तथा बजेट खर्च सम्बन्धी पारदर्शिता र जवाफदेहिता सम्बन्धी प्रश्न उठाएको छ। अब आयोगको थप अनुसन्धानपछि मात्र कुशवाहामाथि लागेका आरोपहरूको पुष्टि हुनेछ या अस्वीकार, त्यसको पर्खाइ रहनेछ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A