जनकपुरधाम, जेठ ३० । नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्यसमितिको तेस्रो बैठक शुक्रबार जनकपुरधाममा सम्पन्न भएको छ। करिब पाँच घण्टा लामो छलफलपछि सम्पन्न भएको बैठकमा उपाध्यक्ष अम्बिका दाहालसहित कार्यसमितिका पदाधिकारी र सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो। बैठकले पत्रकारिता क्षेत्रको समग्र हितका लागि १३ महत्वपूर्ण निर्णयहरू पारित गरेको हो।
बैठकले महासंघको प्रदेश कार्यालय भवन निर्माण कार्यलाई तीव्रता दिने निर्णय गर्दै सञ्चार क्षेत्रको विकाससँगै भौतिक पूर्वाधार सुदृढीकरणलाई प्राथमिकता दिएको जनाएको छ। साथै, आमसञ्चार प्राधिकरणमार्फत पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई प्रदान गरिने विज्ञापन रकममा वृद्धि गर्न सम्बन्धित निकायसँग पहल गर्ने निर्णय गरिएको उपाध्यक्ष अम्बिका दाहालले बताइन्।
पत्रकारहरूको जीवन बीमासम्बन्धी विषयमा पनि बैठकले गम्भीर छलफल गर्दै प्रदेशभरका पत्रकारलाई बीमा सुविधाको दायरामा ल्याउने लक्ष्य लिएको छ। यस्तै, पत्रकारहरूले आचारसंहिताभित्र रही सत्य, तथ्य र निष्पक्ष समाचार संकलन गर्नुपर्नेमा जोड दिँदै त्यसैअनुसारको अभ्यासले नै पत्रकारलाई सुरक्षित राख्ने धारणा बैठकले सार्वजनिक गरेको छ।
पछिल्लो समय पत्रकारमाथि बढ्दो आक्रमणप्रति बैठकले गम्भीर ध्यानाकर्षण जनाउँदै स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरूमाथि हुने दमन र आक्रमण सह्य नहुने चेतावनी दिएको छ। बैठकले स्पष्ट पारेको छ कि कुनै पनि पत्रकारमाथि आक्रमण भएमा महासंघ एकजुट भई त्यसको विरोधमा उत्रिने र न्यायका लागि संघर्ष गर्नेछ।
“पत्रकारले कसैको दबाबमा नपरी स्वतन्त्र ढंगले समाचार संकलन गर्नुपर्छ। सत्य–तथ्यमा आधारित पत्रकारिता गर्नुपर्ने हाम्रो मूल उद्देश्य हो,“ बैठकपछि उपाध्यक्ष अम्बिका दाहालले बताइन्।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले प्रेस स्वतन्त्रताको रक्षा गर्न सरकारसँग पनि आवश्यक दबाब सिर्जना गर्ने र पत्रकारका हकहितका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A