फिरोज सिद्दिकी
१ असार, लहान । लहान नगरपालिकाका उप–प्रमुख रामचलितर महतोले नगरपालिकामा भइरहेको अनियमितता, गैरजिम्मेवार गतिविधि र आफूलाई गरिएको गलत व्यवहारको विषयमा प्रमुख प्रशासकीय अधिकृत जयकान्त झासँग लिखित जवाफ माग गरेका छन्।
उप-प्रमुख महतोले पालिकाभित्र योजना छनोटदेखि बजेट विनियोजन, कार्यान्वयन प्रक्रियामा पारदर्शिता नहुनु, उप–प्रमुखको भूमिकालाई योजनाबद्ध रूपमा पन्छाउने प्रयास तथा पालिकाको आधिकारिक बैठक र निर्णयहरूमा समेत उपेक्षा गरिएको भन्दै गम्भीर आपत्ति जनाएका हुन्।
उनले भने- संघीय लोकतान्त्रिक संरचनाअनुसार उप–प्रमुखको भूमिकालाई कानुनी रूपमा सुनिश्चित गरिएको भए पनि कार्यान्वयनमा मलाई निरन्तर किनारा लगाइएको छ। पालिकाभित्र भएको निर्णय प्रक्रियामा मेरो राय र सहमतिलाई बेवास्ता गर्दै मनोमानी ढंगले निर्णय हुँदै आएको छ।
महतोले प्रमुख प्रशासकीय अधिकृत झालाई नगर प्रमुखको भूमिका र काम कारबाहीमा पनि प्रश्न उठाएका छन्। उनले पालिकाको कार्यसम्पादन पारदर्शी, जवाफदेही र समावेशी बनाउन आग्रह गरेका छन्। साथै उनले प्रमुख प्रशासकीय अधिकृतसँग लिखित जवाफ माग गरेका छन्।
यसबीच प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाले भने आफू कार्यपालिकाको निर्देशन अनुसार चल्ने जिम्मेवारीमा रहेको स्पष्ट पारेका छन्। उनले भने, 'हामी कार्यपालिकाको आदेश पालन गर्ने हो। मेयर र उप–मेयरबीचको विवादमा हामी पर्दैनौं। मेरो लागि मेयर र उप–मेयर दुवैको आदेश बराबर हो।'
उनको यो भनाइले प्रशासन पक्षले आफूलाई तटस्थ राख्न खोजेको संकेत दिएको छ। तर उप–प्रमुखको गुनासोलाई लिएर नागरिक समाज, सञ्चारकर्मी र स्थानीयवासीहरूबाट चासो बढ्दै गएको देखिन्छ।
पालिकाभित्र लामो समयदेखि देखिँदै आएको आन्तरिक विवादले विकास, योजना, बजेट कार्यान्वयनमा समेत असर गरिरहेको भन्दै नागरिकस्तरबाट समेत चिन्ता व्यक्त हुँदै आएको छ।
नगरपालिकाभित्रको यो विवाद पछिल्लो समय सार्वजनिक हुँदै आएको र उप–प्रमुख महतोको गुनासोलाई लिएर नागरिक समाज र संचारकर्मीहरूले समेत चासो व्यक्त गरेका छन्। यसले नगर कार्यपालिकाभित्रको आपसी समन्वय र पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको छ। यो आन्तरिक विवादले कार्यसम्पादनमा असर पार्ने देखिएको छ। सहकार्य, समन्वय र पारदर्शितामाथि उठेको प्रश्नले स्थानीय सरकारको प्रभावकारितामा चुनौती खडा गरेको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A