आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीमा खुला कविता प्रतियोगिता सम्पन्न

  • असार ३०, २०८२
  • समृद्धिपथ
alt

— समृद्धिपथ दैनिक, लहान

लहान, असार ३० । आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीको अवसरमा प्रगतिशील लेखक संघ, सिरहा शाखाले लहानमा आयोजना गरेको खुला कविता प्रतियोगिता भव्य र भावनात्मक रूपमा सम्पन्न भएको छ। लहान नगरपालिका सभाहलमा आयोजित सो कार्यक्रम तीन घण्टासम्म कविता उत्सवमा परिणत भएको थियो।

कार्यक्रमको अध्यक्षता प्रगतिशील लेखक संघ, सिरहा शाखाका अध्यक्ष भैरव गेलालले गरेका थिए भने उद्घाटन नन्दलाल आचार्यले प्रमुख अतिथिका रूपमा गरे। उद्घाटन गर्दै आचार्यले भानुभक्तलाई "भाषिक आदिवासी" को संज्ञा दिंदै वर्तमान भाषिक संघर्षमा उहाँका विचारहरू प्रेरणाको स्रोत हुन सक्ने बताए।

कार्यक्रमको संचालन समर भण्डारीले लयात्मक शैलीमा गरेका थिए, जसले सम्पूर्ण माहोललाई कविता केन्द्रित बनाएर अघि बढाएको सहभागीहरूले बताए।

कार्यक्रमको मुख्य आकर्षण खुला कविता प्रतियोगिता रह्यो। प्रतियोगितामा सृष्टि साह, सन्तोषी यादव, जीवन यादव, शिवशंकर यादव, मौसम कुमारी साह, महेश सिंह, तिलक थापा, टुने बहादुर राउत, रुपेश सदाय, हरिनाथ यादवलगायतका युवा स्रष्टाहरूले विविध विषयमा कविता वाचन गरेका थिए।

त्रय निर्णायक अर्जुन प्रसाद गुप्ता ‘दर्दिला’, जिवछ उदासी र सन्जिता भट्टराईले विषयवस्तु, भावनात्मक गहिराइ र प्रस्तुतीकरणको आधारमा मूल्याङ्कन गरेका थिए। प्रतियोगितामा टुने बहादुर राउत प्रथम घोषित भए, जसले सामाजिक न्याय र भाषिक चेतनालाई उजागर गरेका थिए। उनीलाई नगद रु ५,०००/- र प्रमाणपत्र प्रदान गरिएको थियो।

दोस्रो स्थानमा आधुनिक प्रतीकात्मकता र ग्रामीण यथार्थ समेटेका तिलक थापा रहे, जसले रु ३,०००/- प्राप्त गरे। तेस्रो स्थानमा मैथिली सांस्कृतिक झल्को प्रस्तुत गर्ने रुपेश सदायलाई रु २,०००/- प्रदान गरियो। विशेष सान्त्वना पुरस्कार मौसम कुमारी साहलाई प्रदान गरियो, जसले युवतीको दृष्टिकोणबाट गहिरो भावनात्मक कविता प्रस्तुत गरेकी थिइन्।

कार्यक्रममा भैरव गेलाल, अर्जुन प्रसाद गुप्ता, जिवछ उदासी, सन्जिता भट्टराई, प्रेम न्यौपाने, समर भण्डारीलगायत दर्जनौं कविहरूले नेपाली र मैथिली भाषामा कविता वाचन गरे। प्रस्तुत कविताहरूमा भानुभक्तको स्मरण, भाषिक अधिकार, सामाजिक समानता र समावेशी चेतना झल्किएको थियो।

करिब तीन दर्जन साहित्यप्रेमी, शिक्षक, विद्यार्थी, पत्रकार र युवाहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा सहभागीहरूको अनुहारमा सन्तुष्टि र उत्साह देखिन्थ्यो।

कार्यक्रमको मूल सन्देश थियो, भानुभक्तलाई केवल रामायण अनुवाद गर्ने कविका रूपमा सीमित नराख्ने, बरु उहाँलाई भाषिक मुक्ति, साहित्यिक चेतना र सामाजिक परिवर्तनका अभियन्ताका रूपमा पुनःपाठ गर्ने।

प्रगतिशील लेखक संघ, सिरहा शाखाले आयोजन गरेको यस कार्यक्रमले लहान मात्र होइन, मधेशमा पनि नयाँ साहित्यिक सम्भावनाको संकेत दिएको सहभागीहरूको प्रतिक्रिया रहेको थियो।

 

लहानमा माघे संक्रान् ...

फिरोज सिद्दिकी लहान । लहानमा माघे संक्रान्तिको अव ...

एमबिबिएस र बिएससि नर ...

  जीवछ उदासी  लहान,पुस १४ गते  लहान न ...

जिल्ला उद्योग वाणिज् ...

फिरोज सिद्दिकी  लहान, पौष २ गते । जिल्ला उद्योग व ...

सड्यन्त्रकारी र असक् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A