जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज प्रदेशसभाको बैठकमै रोष्टमबाट आफ्नो राजीनामा घोषणा गरेका छन्। विश्वासको मत लिनुपर्ने समयसीमाको अन्तिम दिन परेको आज उनले विश्वासको मत सामना नगरी सीधै राजीनामा दिने घोषणा गरेका हुन्।
प्रदेशसभामा सम्बोधनका क्रममा सिंहले आफ्नो वक्तव्यको अन्त्यमा राजीनामाको घोषणा गरेपछि सभामुख रामचन्द्र मण्डलले विश्वासको मत विभाजन आवश्यक नपर्ने भन्दै अर्को सूचना जारी नहुन्जेलसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गरेका छन्।
मुख्यमन्त्री सिंहले राजीनामा घोषणासँगै आफ्नो पार्टी जनमतका अध्यक्ष डा. सिके राउतमाथि विभिन्न आरोपहरू लगाएका छन्। उनले पार्टीभित्रको असहयोग, अनुशासनहीनता र गलत निर्देशनका कारण सरकार सञ्चालनमा कठिनाइ आएको बताए।
सिंहको राजीनामासँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ। अब प्रदेश प्रमुखले संविधानअनुसार बहुमतको समर्थन प्राप्त गर्न सक्ने नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्ने अपेक्षा गरिएको छ।
स्मरण रहोस्, सतिशकुमार सिंहले जनमत पार्टीका तर्फबाट मुख्यमन्त्री बनेका थिए र उनको सरकार पछिल्लो समय बहुमत जुटाउन असफल हुँदै आएको थियो। राजीनामासँगै मधेस प्रदेशको राजनीतिक परिदृश्य फेरि एकपटक परिवर्तनको चरणमा प्रवेश गरेको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A