लहान–१५ बेतहाकी ४२ वर्षीया धनकुमारी राईले १२ सन्तान जन्म दिएर नयाँ रेकर्ड कायम गरेकी छन्। सुन्दा अचम्म लाग्ने यो घटनाले लहान नगरमा मात्र होइन, सम्पूर्ण समाजमा स्वास्थ्य शिक्षा र जनचेतनाको अभावबारे गम्भीर प्रश्न उठाएको छ।
धनकुमारी राईले हालै लहानस्थित रामकुमार–सारडा–उमाप्रसाद स्मारक अस्पतालमा १२औं सन्तानका रूपमा एक छोरीलाई जन्म दिएकी हुन्। उनीसहित हाल उनका ९ जना सन्तान (४ छोरा र ५ छोरी) जीवित छन् भने ३ सन्तानले जन्मिएलगत्तै संसार देख्न पाएका छैनन्।
सुत्केरीको अवस्थाबारे जानकारी पाएपछि लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरी अस्पताल पुगेर धनकुमारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। सो अवसरमा मेयर चौधरीले नगरपालिकाको तर्फबाट एक क्विन्टल चामल, दाल, मटर, चना, नुन, तेल र बदामसहितको पोषण प्याकेज राहत सामग्री हस्तान्तरण गरे। कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष रामनारायण मेहताको पनि उपस्थिति रहेको थियो।
मेयर चौधरीले यस्तो घटनाले नगरपालिकालाई अझै धेरै जिम्मेवारी थप्ने बताएका छन्। उनले भने, “यो चेतनाको युगमा १२ सन्तान जन्मिनु शिक्षा र स्वास्थ्य सचेतनाको अभावको स्पष्ट संकेत हो। अब नगरपालिकाले परिवार नियोजन र मातृ–शिशु स्वास्थ्यका क्षेत्रमा अझै सक्रियता बढाउनेछ।”
स्वास्थ्यकर्मीहरूका अनुसार ४२ वर्षको उमेरमा बारम्बार सुत्केरी हुनु महिलाको स्वास्थ्यका लागि जोखिमपूर्ण हुन्छ। अस्पतालका चिकित्सकहरूले धनकुमारी र उनका श्रीमानलाई स्थायी बन्ध्याकरण अपनाउन सुझाव दिएका छन्। उनीहरूले परिवार नियोजनका माध्यमबाट महिलाको जीवनस्तर र स्वास्थ्य सुधार गर्न सकिने बताएका छन्।
स्थानीय बासिन्दाहरूले पनि यो घटनाले लहान–१५ लगायत ग्रामीण बस्तीहरूमा चेतनामूलक कार्यक्रमको आवश्यकता देखाएको बताएका छन्। गाउँकी एक स्थानीय महिला बताउँछिन्, “यहाँ अझै पनि धेरै महिलाहरू परिवार नियोजनका विषयमा जानकारीविहीन छन्। यस्तो घटनाले अब स्वास्थ्यकर्मीहरूले गाउँ–गाउँमा सचेतना फैलाउनुपर्ने देखाएको छ।”
गरीब र विपन्न वर्गमा ठूलो परिवार पाल्नु निकै कठिन हुने भएकाले यो विषयले आर्थिक पक्षमा पनि चुनौती देखाएको छ। १२ सन्तानको पालनपोषण, शिक्षा र स्वास्थ्य व्यवस्थापन गरीव परिवारका लागि असम्भवसरह हुने भएकाले समाजसेवी र सरोकारवाला निकायले सहयोगका कार्यक्रम ल्याउनुपर्ने स्थानीयले सुझाएका छन्।
लहान–१५ को स्वास्थ्य चौकीले पनि यस घटनालाई गम्भीर रूपमा लिएर स्थानीयस्तरमा परिवार नियोजन सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।
यो घटना केवल एक परिवारको निजी कथा होइन, ग्रामीण क्षेत्रमा अझै कायम रहेको परम्परागत सोच, स्वास्थ्य सेवा पहुँचको कमी र चेतनाको अभावको प्रतिबिम्ब हो। अब यस्ता घटनाबाट शिक्षा लिएर समाजलाई चेतनामूलक र व्यवहारिक दिशातर्फ डोर्याउने जिम्मेवारी स्थानीय तहदेखि संघीय सरकारले लिने समय आएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A