फिरोज सिद्दिकी
विराटनगर, भदौ २० गते । विराटनगरमा आयोजित ऐतिहासिक राधाकृष्ण रथयात्राको दर्शन गर्न लाखौँ भक्तजन उत्साहपूर्वक सहभागी भएका छन्।
श्रीराधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्रामा भगवान् राधाकृष्णको दर्शन तथा पूजाआराधनाका लागि विराटनगरसहित मोरङ, सुनसरी, झापा, बिहारको जोगबनी लगायत विभिन्न जिल्लाबाट ठूलो संख्यामा श्रद्धालुहरू सहभागी भएका हुन्।
रथयात्रा अघि बढ्दै गर्दा सडकको दुवैतर्फ भक्तजनको बाक्लो भीड लागेको थियो। श्रद्धालुहरूले ‘राधे–राधे’ लगायतका धार्मिक जयघोष गर्दै रथको दर्शन गरेका थिए। भक्तजनहरूले रथ तानेर धार्मिक आस्था र उत्साह प्रकट गरेका छन्। केही भक्तजनहरू डिजेको धुनमा नाचिरहेका थिए।

रथयात्रालाई व्यवस्थित बनाउन आयोजक, स्वयंसेवक तथा सुरक्षाकर्मी परिचालन गरिएको थियो। भीड व्यवस्थापन, यातायात सञ्चालन र सुरक्षा व्यवस्थालाई समेत विशेष प्राथमिकता दिइएको थियो।
विराटनगरको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रा प्रत्येक वर्ष भव्य रूपमा आयोजना हुँदै आएको छ। यस यात्राले धार्मिक आस्थासँगै सामाजिक सद्भाव, सांस्कृतिक एकता र भाइचाराको सन्देशसमेत दिने गरेको छ। यस वर्ष पनि रथयात्रामा देखिएको भक्तजनको उत्साहले विराटनगरको धार्मिक पर्यटन र सांस्कृतिक महत्त्वलाई थप उजागर गरेको छ।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A