फिरोज सिद्दिकी
सिरहा । पत्रकारहरूमाथि भएको सामूहिक गिरफ्तारी तथा धरपकडको विरोधमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहामा धर्ना दिएका छन् ।
बुधबार महासंघको देशव्यापी विरोध कार्यक्रमअन्तर्गत सिरहाका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय परिसरमा धर्ना दिँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल बन्द गर्न सरकारसँग माग गरेका हुन् ।
पत्रकारहरूले प्रेस स्वतन्त्रताको सम्मान गर, पत्रकारमाथिको धरपकड बन्द गर तथा गिरफ्तार पत्रकारहरूलाई रिहा गर भन्ने मागसहित विरोध जनाएका थिए ।
महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने मनसायले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा अवरोध सिर्जना गर्ने कार्यमा संलग्नमाथि कारबाही नभएकोप्रति गम्भीर आपत्ति जनाएको छ ।
त्यसैगरी, सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकारको उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकम उपलब्ध नगराइएको विषयमा पनि महासंघले असन्तुष्टि व्यक्त गरेको छ ।
महासंघले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने, धम्क्याउने र सञ्चारमाध्यममाथि हस्तक्षेप गर्ने कार्य अस्वीकार्य रहेको जनाएको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै महासंघले देशभर चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएको छ । सिरहामा आयोजित धर्ना पनि सोही आन्दोलनको एक कार्यक्रम हो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A