फिरोज सिद्दिकी
सिरहा । सूर्य उपासनाको महापर्व छठअन्तर्गत आइतबार देशभरका विभिन्न नदी, पोखरी तथा जलाशयमा श्रद्धालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन्। तराई–मधेशसहित देशका विभिन्न स्थानमा छठ पर्वको रौनक छाएको छ। छठ घाटहरूमा व्रतालु तथा श्रद्धालुहरूको उल्लेख्य भीड देखिएको छ।

सिरहा सदरमुकाममा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विभिन्न छठ घाटको अवलोकन गर्नुका साथै पूजाआजा गरेका छन्। उनले सलहेश मन्दिरअगाडिको पोखरीसहित विभिन्न छठ घाटको स्थलगत अवलोकन गर्दै व्रतालुहरूसँग प्रत्यक्ष भेटघाट र भलाकुसारीसमेत गरेका थिए।
पूजाआजा तथा अर्घ अर्पणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष घिसिङले छठ पर्वको विशिष्ट धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको बताए। विशेषगरी ३६ घण्टासम्म निराहार र निर्जल व्रत बसेर मनाइने यस पर्वले मानिसमा आध्यात्मिक विश्वास, आस्था र आत्मबल बढाउने उनको भनाइ थियो।

यता, जनकपुरधामस्थित गंगासागर पोखरीको घाटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनकी धर्मपत्नीले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन्। उनीहरू छठ पूजामा सहभागी हुँदै धार्मिक अनुष्ठानमा सरिक भएका हुन्।

त्यसैगरी, छठ पर्व मनाउन सर्लाही पुगेका नेपाली कांग्रेसका सभापति गगन थापा पूजा सामग्रीसहित दउरा बोकेर छठ घाटतर्फ गएको दृश्य पनि चर्चामा रह्यो।

वीरगञ्जको घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा सभामुख डीपी अर्याल सहभागी भएका छन्। त्यस्तै, सिराहाको लहान स्थित खुट्टी खोलामा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पूजा गरेका छन्।

चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको मुख्य अनुष्ठानअन्तर्गत आज अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गरिएको हो। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ।
धार्मिक आस्था, अनुशासन, शुद्धता र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको छठ पर्वले समाजमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकताको सन्देश प्रवाह गर्दै आएको छ।


सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A