जीवछ उदासी
लहान,कातिक २० गते
सिरहाको धनगडीमाई नगरपालिका वडा नम्वर १० मा लाग्दै आइरहेको पचास वर्षभन्दा पुरानो बजारमा खानेपानी र शौचालयको अभावमा स्थानीयहरु सास्ती खेप्न बाध्य भएका छन् ।
यत्रो पुरानो बजार धनगडीमाइ गाउँविकास समिति भएको बेलादेखि लाग्ने हाटबजारमा अहिलेपनि खासै विकास नभएको स्थानीयहरु गुनासो सुनाउनुभयो । स्थानीय रामबाबु साहका अनुसार आइतवार र विहिवार लाग्ने हाटबजारमा धनगडीमाइ नगरपालिकाको उत्तरी भेगमा पर्ने वडा नम्बर १२,१३ र १४ नम्वरका वडावासीहरु समेत हाट बजार गर्न आउने यस बजारमा ठूलो भीड लाग्ने गर्दछ । यत्रो भीड हुने यस बजारमा न सार्वजानिक शौचालय न खानेपानीको प्रबन्ध छ । कपडा तरकारी लगायतका सामानहरु बिक्री गर्न आउने व्यापारी र स्थानीयहरुलाई खानेपानी र शौचालयको लागि ठूलो सास्ती खेप्नु परिरहेको छ ।
धनगडीमाइ नगरपालिका भएपछि धनगडी बजार सहरी स्वरुप धारण गर्ने स्थानीयहरुले देखेको सुन्दर सपना दस वर्ष हुनै लाग्दापनि बजार क्षेत्रमा घाम पानीबाट जोगिन शेड निर्माण सडक र नालाको पनि उचित विकास हुन नसकको अर्का स्थानीय भोला ठाकुरको गुनासो छ । पूर्व पश्चिम राजमार्गको उत्तरी र दक्षिणी किनारामा समेत किसानहरु तरकारी विक्री गर्ने गरेको समस्यापनि समाधान हुन नसकेको बजारमा अतिक्रमण गरिएका घरहरु हटाएपनि बीचसडकबाट विद्युतको खम्बाहरु नसारिएको बजार क्षेत्रमा एक दर्जन संस्थागत विद्यालयहरु भएपनि एउटापनि व्यवस्थित सामुदायिक विद्यालय नहुनु निर्माण भएको स्वास्थ्यचौकी सञ्चालनमा नआएको लगायतका समस्याहरु समाधान हुन नसकिएको स्थानीयहरुको गुनासो छ ।
यस विषयमा धनगडीमाइ नगरपालिका प्रमुख शिव शङकर महतो भन्नुहुन्छ,‘‘बजार क्षेत्रमा अतिक्रमित जग्गाहरु खाली गरेर खानेपानी र शौचालयको व्यवस्थापन गर्न सार्वजानिक जग्गा नरेहेको र जग्गाको खोजीको लागि पटक पटक प्रयास गरेपनि जग्गा उपलब्ध भएको छैन । समस्या समाधानको लागि वडा कार्यालयसँग समन्वय गरेर कार्य अघि बढाउन प्रयत्नशील छु ।’’
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A