फिरोज सिद्दिकी
लहान, १३ कार्तिक । मधेश प्रदेशको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको सिरहाको लहानमा व्यापार, पर्यटन, कृषि तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘लहान एक्स्पो २०८३’ आयोजना हुने भएको छ। जिल्ला उद्योग वाणिज्य संघ, सिरहा, लहानको आयोजनामा आगामी पुस २४ गतेदेखि माघ ४ गतेसम्म एक्स्पो सञ्चालन हुने भएको हो।
लहानस्थित श्री पशुपति आदर्श माध्यमिक विद्यालयको परिसरमा आयोजना हुने एक्स्पोलाई स्थानीय उत्पादनको बजारीकरण, व्यावसायिक अवसरको खोजी र क्षेत्रीय आर्थिक गतिविधि विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरिएको छ।
आज जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानको सभाहलमा पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदै एक्स्पोमा विभिन्न उद्योग तथा व्यावसायिक क्षेत्रका करिब १५० वटा प्रदर्शनी तथा बिक्री स्टल रहनेछन्। घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादनसँगै कृषि तथा कृषिजन्य सामग्री, हस्तकला, तयारी पोशाक, जुत्ताचप्पल, अटोमोबाइल, इलेक्ट्रोनिक्स, सूचना प्रविधि, निर्माण सामग्री, पर्यटन तथा दैनिक उपभोग्य वस्तु प्रदर्शनीमा राखिनेछन्।
यसपटकको एक्स्पोलाई स्थानीय बजारमा सीमित नराखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध विस्तार गर्ने उद्देश्यसमेत राखिएको छ। नेपालका विभिन्न क्षेत्रका उत्पादक तथा व्यवसायीका अतिरिक्त सम्भव भएसम्म छिमेकी तथा अन्य राष्ट्रका प्रदर्शकलाई समेत सहभागी गराउने आयोजकको लक्ष्य छ।
२५ करोडको कारोबार र डेढ लाख दर्शकको अपेक्षा
एक्स्पोबाट करिब एक लाख ५० हजार दर्शक तथा उपभोक्ताले अवलोकन गर्ने र करिब २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ। यद्यपि, यो लक्ष्य पूरा हुन प्रदर्शकको सहभागिता, उपभोक्ताको आकर्षण र बजारको गतिविधिमा निर्भर रहनेछ।
आयोजकले एक्स्पोलाई प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक कार्यक्रम, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र गरी विभिन्न भागमा विभाजन गर्ने जनाएको छ। राष्ट्रिय तथा स्थानीय कलाकारका सांगीतिक प्रस्तुति, विद्यालय तथा कला केन्द्रका सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिनेछन्।
व्यापारसँगै पर्यटन र रोजगारीमा जोड
आयोजकले एक्स्पोलाई केवल मनोरञ्जनात्मक मेला नभई स्थानीय उद्यमी, उत्पादक, वितरक, लगानीकर्ता र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने व्यावसायिक मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।
विशेषगरी मधेश प्रदेशका कृषि उत्पादन, हस्तकला, कला, संस्कृति तथा स्थानीय उद्यमलाई राष्ट्रिय बजारसम्म परिचित गराउने अपेक्षा गरिएको छ। यसबाट स्थानीय व्यवसायको बजार विस्तार, रोजगारी सिर्जना, लगानीका सम्भावनाको पहिचान तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने आयोजकको विश्वास छ।
सुरक्षा र व्यवस्थापन मुख्य चुनौती
एक्स्पोमा ठूलो संख्यामा दर्शक सहभागी हुने अपेक्षा गरिएकाले व्यवस्थापन पक्ष पनि महत्वपूर्ण हुने देखिन्छ। आयोजकले सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सरकारी निकायसँग समन्वय गरी सुरक्षा व्यवस्था मिलाउने जनाएको छ।
आगन्तुकका लागि पार्किङ, खानेपानी, शौचालय, प्राथमिक उपचार, सूचना तथा मिडिया केन्द्रलगायतका आधारभूत सुविधाको व्यवस्था गर्ने प्रतिबद्धतासमेत गरिएको छ।
जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीपकुमार गुप्ताद्वारा जारी प्रेस विज्ञप्तिमा एक्स्पोलाई सफल बनाउन उद्योगी, व्यवसायी, स्थानीय तह, सरकारी निकाय, सञ्चारकर्मी तथा आम नागरिकसँग सहयोग र सहभागिताका लागि आग्रह गरिएको छ।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A