सिरहा। सरकारले छठ पर्व मनाउने क्रममा जातीय विभेद, छुवाछुत तथा सामाजिक सद्भाव खल्बल्याउने गतिविधि नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ। दलित समुदायका लागि छुट्टै छठ घाट निर्माण गर्ने वा गर्न दिने कार्य संविधान र प्रचलित कानुनविपरीत हुने भन्दै सरकारले यस्तो विभेदकारी गतिविधि रोक्न सचेत गराएको हो।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले छठ पर्वको अवसरमा विज्ञप्ति जारी गर्दै जातीय वा लैङ्गिक आधारमा घाट छुट्याउने, सार्वजनिक स्थानमा प्रवेश निषेध गर्ने तथा विभेदपूर्ण व्यवहार नगर्न आग्रह गरेको छ।
मन्त्रालयका अनुसार नेपालीहरूको महान् सांस्कृतिक पर्व छठ धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भावको प्रतीक हो। प्रकृतिप्रतिको कृतज्ञता, सूर्य उपासना र शुद्धताको सन्देश बोकेको यस पर्वले समाजमा आपसी मेलमिलाप, बन्धुत्व र एकताको भावना बलियो बनाउने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।
विज्ञप्तिमा नेपालको संविधानको धारा २४ ले छुवाछुत तथा भेदभावविरुद्धको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको र धारा १८ ले समानताको हक प्रत्याभूत गरेको उल्लेख छ। त्यस्तै, जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ ले जातजाति, वंश, समुदाय वा पेसाका आधारमा छुवाछुत र भेदभाव गर्ने तथा सार्वजनिक स्थानमा प्रवेश निषेध गर्ने कार्यलाई दण्डनीय कसुर मानेको मन्त्रालयले स्मरण गराएको छ।
छठ पर्वका क्रममा कतिपय स्थानमा दलित समुदायका लागि छुट्टै घाट निर्माण गर्ने वा छुट्टै घाटमा पूजा गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने भन्दै मन्त्रालयले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्तो अभ्यास संविधानको मर्म, कानुनी शासन र समानताको सिद्धान्तविपरीत हुनुका साथै सामाजिक सद्भावमा समेत नकारात्मक असर पार्ने मन्त्रालयको ठहर छ।
मन्त्रालयले स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज, सञ्चारकर्मी तथा सर्वसाधारणलाई छठ पर्वलाई समावेशी र विभेदमुक्त बनाउन आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
विज्ञप्तिमा सहप्रवक्ता एवं उपसचिव बसन्त भट्टराईले सबै जातजाति, वर्ग, क्षेत्र र समुदायको साझा अधिकार तथा आत्मसम्मानको रक्षा गर्दै समतामूलक समाज निर्माण गर्न मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
सरकारले छठ पर्वको अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामनासमेत व्यक्त गरेको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A