लहान । रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल, लहानले अस्पताल परिसरभित्र अनधिकृत रूपमा प्रवेश गरी बिरामीलाई बाहिरका औषधि पसल तथा प्रयोगशालाबाट सेवा लिन प्रेरित गर्ने व्यक्तिहरूको प्रवेश निषेध गरेको छ।
अस्पताल प्रशासनले बिहीबार सूचना जारी गर्दै अस्पतालमा उपचारका लागि आउने बिरामीको पुर्जा जबर्जस्ती खोस्ने, विभिन्न छुट (डिस्काउन्ट) को प्रलोभन देखाउने र बाहिरका औषधि पसलबाट औषधि खरिद गर्न तथा प्रयोगशालामा परीक्षण गराउन दबाब दिने गतिविधि बढेको भन्दै यस्तो निर्णय गरेको जनाएको हो।
अस्पतालका अनुसार ओपिडी, आकस्मिक, शल्यक्रिया तथा अन्तरङ्ग सेवा लिइरहेका बिरामीलाई लक्षित गरी अस्पताल वरपर सञ्चालित औषधि पसलका प्रतिनिधिहरूले अनधिकृत रूपमा यस्ता गतिविधि गर्ने गरेको गुनासो प्राप्त भएको छ।
यस्ता गतिविधिले अस्पतालको नियमित सेवा प्रवाहमा बाधा पुग्नुका साथै बिरामीको उपचार प्रक्रियामा समेत प्रतिकूल असर पार्न सक्ने भन्दै अस्पताल परिसरभित्र त्यस्ता व्यक्तिको प्रवेश पूर्ण रूपमा निषेध गरिएको सूचनामा उल्लेख छ।
अस्पताल प्रशासनले निषेधित गतिविधिमा संलग्न व्यक्ति परिसरभित्र प्रवेश गरेको वा त्यस्ता गतिविधि गरेको पाइएमा तत्काल सुरक्षा गार्ड तथा प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग अनुरोध गरेको छ। साथै, आवश्यक कानुनी कारबाहीका लागि सहयोग गर्न पनि अस्पतालले आग्रह गरेको छ।
अस्पताल प्रशासनको यो निर्णयले बिरामीलाई बाह्य औषधि पसल तथा प्रयोगशालाबाट सेवा लिन प्रेरित गर्ने अनधिकृत गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षागरिएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A