फिरोज सिद्दिकी
लहान । लाहान लगायत तराई मधेश क्षेत्रमा मनाइने महत्वपूर्ण लोक पर्व छठको तयारी सुरु भएको छ। लहान लगायत मधेशका विभिन्न क्षेत्रमा छठ पूजा स्थल, नदी किनार, पोखरी तथा तलाउहरूको सफाइ र सजावटको कामलाई तीव्रता दिइएको हो।
छठ पर्वमा विशेष रूपमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी परिवारको कल्याण, स्वास्थ्य र समृद्धिको कामना गरिन्छ। यस वर्षको छठ पर्व कात्तिक २० गतेदेखि २३ गतेसम्म चार दिनसम्म मनाइँदैछ।
जिल्लामा स्थानीय स्वयंसेवी संस्थाहरू, जनप्रतिनिधि र स्थानीयवासीहरूको सक्रियतामा छठ घाटहरूको व्यवस्थापन भइरहेको छ। घाटमा विजुली बत्तीको व्यवस्था, पन्डाल निर्माण, बाँसको खम्बा तथा सजावट सामग्रीले स्थलहरूलाई झकिझकाउ बनाइँदैछ। स्थानीय प्रशासनले पनि छठ पर्वको तयारीका लागि विशेष सुरक्षा व्यवस्थाका लागि प्रहरी परिचालन गर्ने तयारी गरिरहेको छ।
सफा र सुरक्षित स्थानमा पूजा गर्न पाइयोस् भन्ने उद्देश्यले यस पटक लहान नगरपालिकाले घाट सफाइमा विशेष ध्यान दिएको लहान ७ का वडाध्यक्ष राम अवतार शर्माले जानकारी दिनुभयो। उहाँले लाहान नगरपालिकाले खुट्टीगाट सजावटका लागि ७ लाख रकम विनियोजन गरिएको समेत जनाउनुभयो।
छठ पर्वको लागी ख़ुटी खोलामा टेन्ट, बिजुली बतीको सामुहिक व्यवस्था गरिएको छठ व्यवस्थापन समितिका अध्यक्ष नवीन गुप्ताले जानकारी दिनुभयो। उहाँले घाट निर्माण तथा सरसफाइ अभियान सक्रिय रूपमा भइरहेको बताउनुभयो।
छठका अवसरमा घाटमा आउने श्रद्धालुहरूको सुविधा र सुरक्षाको लागि प्रहरी तथा स्वयंसेवकहरूलाई विशेष जिम्मेवारी तोकिएको छ।
छठ पर्वलाई लक्षित गरी लहानको बजारमा पूजामा प्रयोग हुने ठेकुवा, भुसवा, गहूँ, नरिवल, उखु लगायतका सामग्रीको माग बढेको छ। यस पर्वमा विशेष खानाको परिकारका लागि आवश्यक सामग्री किनमेल गर्न श्रद्धालुहरू बजारतर्फ आकर्षित भएका छन्। समुदायको समर्पण र सहभागितामा छठ पर्वको तयारीमा सक्रियता देखिँदा यस वर्षको पर्व भव्य र उल्लासमय हुने अपेक्षा गरिएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A