फिरोज सिद्दिकी
लहान । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज १२औं दिन सिरहाको लाहानमा सहिद महिलाहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
मानव अधिकार संरक्षण सञ्जाल, सिरहाको आयोजनामा भएको कार्यक्रममा सहिद महिलाको बलिदान र योगदानलाई स्मरण गर्दै दीप प्रज्वलन गरिएको हो।
कार्यक्रममा विभिन्न अधिकारकर्मी र पत्रकारहरूको उपस्थिति रहेको थियो। अधिकारकर्मी गंगा अधिकारीले महिला हिंसाका घटनाको अन्त्य गर्न सबैले एकजुट भएर काम गर्नुपर्ने आवश्यकता रहेको औंल्याउदै महिला हिंसाविरुद्धको अभियानलाई सफल बनाउन सबैले सामूहिक प्रयास गर्नुपर्ने बताए।
पत्रकार जिबछ उदासीले महिला हिंसा उन्मूलनका लागि सञ्चार माध्यमको भूमिकाबारे प्रकाश पार्दै महिला अधिकारका विषयमा सञ्चार माध्यमले भूमिका खेल्नुपर्नेमा जोड दिए।
त्यसैगरी, अधिकारकर्मी अनिता चौधरीले हिंसापीडित महिलाको न्यायका लागि अझै धेरै पहल आवश्यक रहेको धारणा राख्दै महिला हिंसाको अन्त्यका लागि कानुनी व्यवस्था तथा सामाजिक जागरणको महत्वबारे धारणा व्यक्त गरे।
लक्ष्मेश्वर यादवले महिलाको हक र अधिकार सुनिश्चित गर्न प्रभावकारी कानूनी संरचनाको माग गरे।
कार्यक्रमको सहजीकरण राम भरोसी महताेले गरेका थिए। कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलनमार्फत महिला हिंसाको अन्त्यका लागि ऐक्यबद्धता जनाएका थिए। यस प्रकारका अभियानले समाजमा महिला हिंसा उन्मूलनका लागि जनचेतना फैलाउन सहयोग पुर्याउने जनाइएको छ।
महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सिरहा जिल्लामा विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A