सिराहा। सिरहा जिल्लाको सुखिपुर नगरपालिका वडा नम्बर ३, सलमपुरमा गए राति भीषण आगलागी हुँदा दुईवटा किराना पसल र ग्यास डिलर जलेर पूर्ण रूपमा नष्ट भएका छन्।
सुलिन्दर दासको एकतले पक्की घरमा भरत साहले सञ्चालन गर्दै आएको किराना पसल र प्रिमा ग्यास डिलरमा ग्यास लिकेजका कारण आगलागी भएका हुन्।
आगलागीका क्रममा ग्यास डिलरमा रहेका ६ थान ग्यास सिलिन्डर विस्फोट भएका थिए। आगलागीबाट किराना पसलमा राखिएका खाद्यान्न, रिचार्ज कार्ड, तेल, चाउचाउ, मलजस्ता सामग्री पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी विरेन्द्र पासमानले जानकारी दिए।
भरत साहको पसलमा मात्रै ५ लाख २७ हजार रुपैयाँ बराबरको क्षति भएको छ भने सोही घरको अर्को सटरमा रहेको अनिल कुमार दासको किराना पसलमा २ लाख ८३ हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ।
स्थानीय बासिन्दा र प्रहरीको प्रयासमा आगो नियन्त्रणमा आएको थियो। घटनामा मानवीय क्षति नभए पनि ठूलो आर्थिक क्षति भएको छ। पीडित व्यवसायीहरूले क्षतिपूर्ति र राहतको माग गरेका छन्।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A