फिरोज सिद्दिकी
लहान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) लहान नगर कमिटीले एक प्रेस विज्ञप्ति जारी गर्दै लहान नगरपालिकाका प्रमुख महेश चौधरीको कार्यशैलीप्रति कडा आपत्ति जनाएको छ। विज्ञप्तिमा नगर प्रमुख चौधरीले किसान, मजदुर तथा जनताको हितविपरीत कार्य गर्दै जनघाति निर्णयहरू लिइरहेको आरोप लगाइएको हो।
प्रेस विज्ञप्ति अनुसार, नगर प्रमुख चौधरीले शिक्षा, पर्यटन, पूर्वाधार, सेवा प्रवाहजस्ता क्षेत्रमा जनविरोधी गतिविधिहरूलाई प्राथमिकता दिँदै जनतामा निराशा र असन्तुष्टि फैलाउने कार्य गरिरहेको उल्लेख छ। साथै, भुमाफियाको पक्षपोषण गर्दै राणाकालदेखि कायम रहेका खुट्टी नहरलाई हटाएर जग्गा हत्याउने योजनामा काम गरिरहेको भन्दै एमाले नगर कमिटीले यसको कडा विरोध गरेको छ।
पार्टीले २०८१ अशोज १५ र कार्तिक १० मा नगरपालिकालाई १६ बुँदे ज्ञापनपत्र बुझाएपछि नगर प्रमुखले वार्ता र छलफलमार्फत समस्याहरू समाधान गर्ने सहमति गरे पनि पछि त्यो सहमति उल्लंघन गरेको विज्ञप्तिमा जनाइएको छ। एमाले नगर कमिटीले उक्त सहमति भुमाफियाको स्वार्थपूर्तिका लागि गरिएको भन्दै नगर प्रमुख चौधरीमाथि विश्वासघात गरेको आरोप लगाएको छ।
विज्ञप्तिमा आफ्नै पार्टीका लगनलाल चौधरी लगायतका केही नेताहरूले नगर प्रमुख चौधरीको पक्षपोषण गरेको आरोप लगाउँदै उच्च तहका नेताहरूको संरक्षणकै कारण यस्ता गतिविधि भइरहेकाे भन्दै भर्त्सना गरिएको छ।
विज्ञप्तिमा नगर प्रमुखको जनविरोधी निर्णयविरुद्ध किसान, मजदुर र नगरवासीलाई गोलबन्द गर्दै संघर्ष गर्ने निर्णय गरिएको उल्लेख छ। नहरको संरचना बिगार्ने र किसानहरूको सिँचाइको अधिकार खोस्ने कार्यप्रति गम्भीर आपत्ति जनाउँदै एमाले नगर कमिटीले खुला नहर संरक्षणका लागि संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
एमाले लहान नगर कमिटीका अध्यक्ष राजकुमार साहले विज्ञप्ति जारी गर्दै किसान संघर्ष समितिका अध्यक्ष धर्मराज चौधरीद्वारा जारी गरिएको पछिल्लो विज्ञप्ति पनि नगर प्रमुख चौधरीको जनघाति कार्यको निरन्तरताको प्रयास मात्र भएको स्पष्ट पारेका छन्।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A