नयाँ दिल्ली । भारतको राजधानी दिल्लीको नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ९ महिला, ४ पुरुष र ५ बालबालिका रहेका छन्। तीमध्ये ९ जना बिहारका, ८ जना दिल्लीका र १ जना हरियाणाका छन्।
आइतबार बिहान भागदौडको घटना १३ र १४ नम्बर प्लेटफर्ममा भएको हो। हजारौँ भक्तजनहरू प्रयागराज महाकुम्भमा जानका लागि रेल चढ्न जम्मा भएको बेला भीडभाडको कारण दुर्घटना भएको जनाइएको छ।
घटनाको जानकारी पाउनेबित्तिकै दिल्ली फायर सर्भिसले ४ फायर इन्जिनहरू तुरुन्तै पठाएको थियो। साथै, घटनास्थलमा एम्बुलेन्सहरूले घाइतेहरूको उद्धार गरिरहेका छन्। घाइतेहरूलाई लेडी हार्डिङ्ग अस्पतालमा भर्ना गरिएको छ भने रेलवे पुलिस र दिल्ली पुलिसले थप उद्धार कार्य गरिरहेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले भागदौडमा मारिएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A