सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार क्षेत्र फेरि एकपटक अव्यवस्थित हाटबजारको मारमा परेको छ। सडकमै लाग्ने बजारकै कारण मंगलबार एक वृद्धको ज्यान गएको घटनाले बजार व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएको हो।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना. १ क ९२२८ नम्बरको बालुवा बोकेको ट्रकले किच्दा एक अपरिचित वृद्धको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्न सकेको छैन भने शव पोष्टमार्टमका लागि लैजाने तयारी भइरहेको छ।
प्रत्यक्षदर्शीका अनुसार, भीडभाडयुक्त अवस्थामा सडक पेटीमै हिँडिरहेका वृद्धलाई ट्रकले सामान्य रूपमा छोएपछि उनी लड्न पुगेका थिए। 'उहाँ पेटीमै हिँडिरहनु भएको थियो, ट्रकले छोएपछि भित्रतिर लड्नुभयो र पछाडिको चक्काले किचिहाल्यो,' एक स्थानीयले भने।
प्रहरीका अनुसार मृतक उदयपुरबाट तरकारी किनबेचका लागि गोलबजार आएको प्रारम्भिक जानकारी खुले पनि विस्तृत विवरण आउन बाँकी छ। इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुदन केसीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।
तर, यो घटना केवल एउटा दुर्घटना मात्र नभई दीर्घकालीन व्यवस्थागत समस्याको परिणाम भएको स्थानीयको भनाइ छ। गोलबजारमा प्रत्येक मंगलबार र शनिबार सडकमै लाग्ने हाटबजारले वर्षौंदेखि यातायात व्यवस्थालाई प्रभावित पार्दै आएको छ।
स्थानीय रविन्द्र साह भन्छन्, 'यहाँ स्थानीय सरकार, प्रहरी र ट्राफिक सबैको लापरवाही छ। सडकमै बजार लाग्छ, कसैले व्यवस्थापन गर्दैन। त्यसैले पटक–पटक दुर्घटना भइरहेको छ।'
स्थानीयका अनुसार थोक तथा खुद्रा तरकारी व्यवसायीले सडकमै ट्रक तेर्साएर व्यापार गर्ने गरेका छन्, जसले राजमार्गलाई साँघुरो बनाउँदै पैदलयात्री र सवारी साधन दुवैलाई जोखिममा पार्दै आएको छ।
नगरपालिकाले बजार व्यवस्थापनका लागि बजेट खर्च गरेको दाबी गरे पनि त्यसको प्रभाव देखिएको छैन। व्यवसायी, किसान र सरोकारवाला निकायबीच समन्वय अभाव हुँदा दीर्घकालीन समाधान निस्कन सकेको छैन।
यसअघि पनि यस्तै कारणले साना–ठूला दुर्घटना हुँदै आएका भए पनि प्रभावकारी कदम नचालिँदा गोलबजार क्षेत्र ‘उच्च जोखिम क्षेत्र’ बन्दै गएको छ। स्थानीयहरू तत्काल बजारलाई सुरक्षित वैकल्पिक स्थानमा सार्नुपर्ने माग गरिरहेका छन्।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A