सिरहा । सिरहाको लहान नगरपालिका–३ नयाँ बस्ती टोलबाट प्रहरीले नास्पातीका क्रेटभित्र लुकाएर राखिएको ठूलो परिमाणको गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विशेष सूचनाको आधारमा गरिएको अपरेशनका क्रममा पार्किङ अवस्थामा रहेको बा२१च ५६६६ नम्बरको योद्धा पिकअपमा खानतलासी गर्दा नास्पातीका ४६ वटा क्रेटभित्र बोरामा लुकाएर राखिएको गाँजा जस्तो देखिने पदार्थ फेला परेको हो।
प्रहरीका अनुसार बरामद गरिएको गाँजा जस्तो देखिने पदार्थको तौल प्लास्टिकसहित ६६३ केजी र प्लास्टिक हटाउँदा ६५२ केजी रहेको छ। साथै पिकअपमा रहेको करिब ९,९२० केजी नास्पाती समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा लहान नगरपालिका–३ निवासी ३८ वर्षीय श्यामकुमारी साह, भारतको बिहार राज्य, मधुवनी जिल्ला घर भई हाल लहान–३ बस्दै आएका ४० वर्षीय गौरव महतो तथा उनका १९ वर्षीय छोरा शिवम साहलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा ठूलो परिमाणमा लागुऔषध बरामद भएको हो।
प्रहरीले पक्राउ परेका तीनै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। साथै बरामद पदार्थको वास्तविक प्रकृति, यसको स्रोत, गन्तव्य तथा यस घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिको पहिचानका लागि अनुसन्धानलाई थप विस्तार गरिएको डीएसपी पालले जानकारी दिए।
प्रहरीले बरामद गरिएको पिकअप, गाँजा जस्तो देखिने पदार्थ तथा अन्य सामग्री नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A