सिरहामा स्वाब संकलन रोकियो, आरडिटी गरेर घर पठाउदा संक्रमण थप फैलिने जोखिम

  • असार १, २०७७
  • समृद्धिपथ
alt प्रतीकात्मक तस्बिर।

लहान । विगत दुई सातादेखि सिरहामा कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन कार्य रोकिँदा संक्रमण थप फैलिने जोखिम बढ्दै गएको छ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित राजविराज, जनकपुर, विराटनगर, वीरगञ्ज र काठमाडौँका कुनै पनि प्रयोगशालाले स्वाब लिन नमानेपछि सिरहामा गत जेठ १९ गतेदेखि स्वाब संकलन रोकिएको हो।

 ‘न धरानले लिन मानिरहेको न त विराटनगर, राजविराज, जनकपुर र टेकुले लिन मानेका छन्ु, जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवले भने, ‘हामीले स्वाब संकलन गरी परीक्षणका लागि खासमा जनकपुर र काठमाडौँ पठाउने हो तर जनकपुरले ‘अहिले स्वाब नपठाउनू’ भनेर पत्र नै पठाएको छ, टेकुले पनि स्वाब नपठाउनू भनेकाले रोकेका हौँ।’

मुलुकको कुनै पनि प्रयोगशालाले परीक्षणका लागि स्वाबको नमूना लिन नमानेपछि जेठ १९ गतेयता जिल्लामा स्वाब संकलन रोकिएको प्रमुख यादवको भनाइ छ।

कोरोना भाइरस तीव्रगतिमा फैलिएको छिमेकी मुलुक भारतबाट दैनिक घर फर्किनेको सङ्ख्या बढ्दै गएको बेला परीक्षणका लागि स्वाब संकलन नै रोकिएपछि कोरोना संक्रमण थप फैलिने जोखिम बढेको प्रमुख यादवले बताएका छन्।

‘हामीसँग अझै स्वाब संकलन गर्ने किट छ तर न त प्रयोगशालाले स्वाबको नमूना लिन मानेका छन् न त माथिबाट संकलन गर्न निर्देशन नै आएको छ’, प्रमुख यादवले भने, ‘त्यसैले स्वाब संकलन रोकेर आरडिटी मात्र जाँच गरेर घर पठाउनुपर्ने बाध्यतामा पुगेका छौँ।’

पछिल्लोपटक सिरहाबाट गत जेठ १७, १८ र १९ गते संकलन गरी पिसीआर परीक्षण गर्न ४२० को स्वाब पठाएकामा हालसम्म १५० को मात्र रिपोर्ट आएको छ।

बाँकीको रिपोर्ट अझै आउन सकेको छैन।

सिरहाका विभिन्न स्थानको क्वारेन्टिनमा बसेकाहरुको स्वाब संकलन गरी परीक्षण गर्न पठाइएकाहरुको दुई सातासम्म पनि रिपोर्ट नआउँदा व्यवस्थापनमा समस्या भइरहेको जनप्रतिनिधिले गुनासो गरेका छन्।

 गत जेठ १७ गते स्वाब संकलन गरी पिसीआर परीक्षण गर्न पठाएकामा हालसम्म परीक्षण रिपोर्ट नआउँदा क्वारेन्टिनमा बसेकालाई घर पठाउने वा क्वारेन्टिनमा नै राख्ने भन्ने अन्योल बढेको सिरहाको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष मेहताले बताए।

‘दैनिक क्वारेन्टिनमा आउनेको सङ्ख्या बढ्दै गएको छ’, गाउँपालिका अध्यक्ष मेहताले भने, ‘तर स्वाब लिएकाहरुको समयमा रिर्पार्ट नआएपछि उहाँहरुलाई घर पठाउने कि क्वारेन्टिनमै राख्ने भन्नेमा हामी आफैँ अन्योलमा परेका छौँ।’

भारतबाट दैनिक घर फर्किनेको लर्कोले जिल्लाका लगभग सबै क्वारेन्टिन भरिभराउ हुन लागेकाले अब आउनेलाई कहाँ व्यवस्थापन गर्ने भन्ने चुनौती बढेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईँले बताए।

‘हामीसँग दुई हजार शैयाको क्वारेन्टिन छ तर अहिलेसम्म करिब एक हजार ५०० भन्दा बढी व्यक्ति क्वारेन्टिनमा छन्’, प्रजिअ गुरागाईँले भने, ‘दैनिक आउने क्रम बढ्दै गएकाले अबको केही दिनभित्रै ती सबै क्वारेन्टिन भरिन्छन् र त्यसपछि आउनेलाई कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने समस्या आउन सक्छ।’

त्यसैले अब आरडिटी जाँच गरेरै घर पठाउने गरी तयारी गरिरहेको प्रजिअ गुरागाईँले बताए।

हालसम्म सिरहामा एक हजार ८४९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा ६४ जनाको पोजेटिभ र एक हजार ४४३ जनाको निगेटिभ गरी कूल एक हजार ५०७ जनाको मात्र परीक्षण रिर्पोट आएको छ भने ३४२ जनाको रिर्पोट अझै आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ।

आरडिटी किटबाट कूल एक हजार ७७७ जनाको परीक्षण गरिएकामा ६७ जनाको पोजेटिभ र एक हजार ७१० जनाको रिर्पोट निगेटिभ आएको जनाइएको छ।

सिरहामा हालसम्म कोरोना भाइरस सङ्क्रमित ६४ मध्ये २० जना उपचारपश्चात निको भई घर फर्किसकेका छन्। (रासस/सेतोपाटी)

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A