फिरोज सिद्दिकी
लहान । महिलाहरुको सीप विकास तालिम अन्तर्गत माला, बाला, चुडा र कानको टँप बनाउने तालिम मंगलवार लहानमा सम्पन्न भएको छ । लहान नगरपालिकाको आयोजनामा गत जेठ २७ गतेदेखि उक्त तालिम शुरु भएको थियो ।
लहान नगरपालिकाको २४ वटै वडाका एक–एक जना सहभागि महिलाहरुलाई माला, बाला, चुडा र कानको टँप बनाउन सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको लहान नगरपालिकाकी महिला विकास निरीक्षक अन्जना कुमारी साहले जानकारी दिनुभयो ।
तालिमको समापन गर्दै लहान नगरपालिकाकी उपमेयर सरियार कुमारी चौधरीले महिलाहरुलाई आर्थिक अधिकारबाट बञ्चित गराइने भएकाले समाजमा अझै पनि महिलाहरु पछाडी पर्नु परेको बताउनु भयो । संविधानले महिला सहभागीताका लागि विभिन्न अवसरहरु दिएको भन्दै उपमेयर चौधरीले महिलाहरु जागरुक हुनु पर्नेमा जोड दिनुभयो ।
तालिम लिएपछि आफुले ग्रहण गरेको सिपलाई आर्थिक उपार्जनमा लगाउनु पर्नेमा जोड दिदै उपमेयर चौधरीले महिला सशक्तिकरणका लागि आत्मनिर्भर हुन जरुरी छ ।
महिलाहरुलाई स्वदेशमै केही गर्न साथै आत्मनिर्भर बनाउने उद्देश्यले सो तालिम आयोजना गरिएको बताउदै उहाँले महिलाहरुलाई आत्मनिर्भर बनाउन आगामी दिनमा थप अन्य तालिमहरु समेत आयोजना गरिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा लहान नगरपालिकाका महिला विकास निरीक्षक साह र प्रशिक्षक शान्ति कुमारी पासमानले महिलाहरुले उत्पादन गरेको सामाग्रीको बजारीकरणमा स्थानीय व्यवसायी र नगरपालिकाले सहयोग गरिदिनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा प्रशिक्षार्थी सहभागीहरुको तर्फबाट लहान १० की निषा मगरले तालिम अत्यन्तै उपयोगी बनेको र अगाडी बढ्न थप हौसला मिलेको बताएका थिए ।


सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A