फिरोज सिद्दिकी
लहान । मधेश आन्दोलनको उद्गम भूमि लहानमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा नागरिक समाजद्वारा नारा जुलुस भएका छन् ।
प्रधानमन्त्री ओली समर्थकहरुले स्थिर सरकारको माग गर्दै सडकमा ओर्लिएका छन् । वर्तमान केपी ओली सरकार पाँच वर्ष निरन्तर चल्नुपर्ने माग गर्दै समर्थकहरुले प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्री ओलीलाई पार्टीभित्रैबाट राजीनामा दिन दबाब आएपछि उनका समर्थकहरुले असारको झरीमा पनि पानीको परवाह नगरी सयौं युवाहरु शनिबार लहानको नयाँ बजारबाट जुलुस प्रदर्शन गर्दै शहिद चौकसम्म पुगेका थिए ।

उनीहरुले राष्ट्रिय झण्डा, नेपालको नक्सा र केपी ओलीको फोटो सहित प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा सहभागिहरुले ‘नेकपा जिन्दावाद, पार्टी एकता जिन्दाबाद, राष्ट्रवादी सरकार जिन्दावाद, जनताको चाहाना, सरकार परिवर्तन गर्न पाईदैन, भारतीय हस्तक्षेप बन्द गर सरकार ढाल्न पाईदैन, भारतीय विस्तारवाद चाहिदैन, पार्टी फोर्न पाइदैन, पार्टी भित्रको गुटवन्दी बन्द गर, बाढी पिडितलाई राहत देऊ, कोरोना भाइरस परिक्षण वृहत गर, लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो हो’ जस्ता नारा लगाएका थिए ।
प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै नेकपाका यूवा नेता जितेन्द्र साहले देशले गुमाएको भूमिसहितको नेपालको नक्सा सार्वजनिक गरे लगत्तै पार्टीभित्रबाटै सरकारको राजीनामा माग गर्नु विडम्वना भएको बताउनुभयो ।
उहाँले नागरिक समाज स्थिर सरकार चाहिन्छ भन्ने पक्षमा सडकमा आएको बताउँदै यो वा त्यो भन्दा पनि नेपालमा स्थिर सरकार हुनुपर्नेमा जोड दिनुभयो । देशको आर्थिक विकास र समृद्धिको लागि पनि केपी ओली सरकार पाँच वर्षसम्म चल्नुपर्ने उहाँको भनाई थियो ।
कोण सभामा नागरिक समाजका अगुवाहरु रियासत लिमि, इस्राईल सिद्दिकी, ओम प्रकाश साह, लक्ष्मी पासमान, मो. जिवरिल, ईशा शेख, कमल साहलगायतका युवाहरु सरिक भएका थिए ।
प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विवाद समाधानका लागि भन्दै निरन्तर वार्तामा बसिरहेका छन् । तर अहिलेसम्म कुनै ठोस नतिजा भने आउन सकेको छैन् ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A