जिवछ उदासी
लहान साउन ३ गते ।
हरेक राजनीतिक परिवर्तनको मूल आशय नै शिक्षा क्षेत्रमा आमूल परिवर्तन हुनु हो । नेपालको शिक्षा क्षेत्रले निकै फड्को मारयो भने तर्कहरु पनि भइरहेको छ । हो पनि निजी विद्यालयहरुले फड्को मारेकै हो । सामुदायिक विद्यालयहरु पछि परेकै छ । नयाँ संविधानको धारा ३१ मा शिक्षालाई मौलिक हकको रुपमका समेत समेटिएको छ । शिक्षालाई मौलिक हकमा राखिसकेपछि शिक्षा दिने राज्यको दायित्वभित्र स्वतः पर्न जान्छ । त्यति मात्रै होइन, संविधानको प्रस्तावनामा नै समाजवाद उन्मुख व्यवस्था हुने भनिएको छ । नयाँ संविधान जारी भएपछि तीनै तहको सरकारले समन्वय गरेर शिक्षामा परिवर्तन गर्न समन्वनायत्मक भूमिका खेल्नुपर्ने आवश्यक देखिएको छ ।
सामुदायिक विद्यालयभन्दा निजी हरेक दौडमा अगाडि देखिएकोले ऋण काढेर भएपनि, छोराछोरीलाई निजी बोर्डिङगमा पढाउन वैदेशिक रोजगारीमा जानु परेपनि जे गरेर भएपनि निजी विद्यालयमा पढाउन सकेमात्रै छोराछोरी सुध्रिने मानसिकतामा पुगेको देखिन्छ । तसर्थ सामुदायिक विद्यालयलाई सुधार्न नसके गरीव धनी सबै वर्गले एकैनासे शिक्षा पाउन नसकिने निश्चित छ । यसको लागि निर्वाचित तीनै तहको सरकारबाट प्रयासहरु हुनु जरुरी पनि छ ।
अहिले लहान नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेको ५९ वटै सामुदायिक विद्यालयहरुको अवस्था व्यवस्था र शैक्षिक सुधारको लागि विभिन्न समयमा शिक्षा क्षेत्रमा लागेका विभिन्न अनुभवी व्यक्तित्वहरुको सल्लाह सुझाव र अनुगमनको आधारलाई समेत ध्यानमा राखेर सामुदायिक विद्यालयहरुको सुधारको लागि प्राथमिक तहमा सरुवा गर्ने नीति तय गरेर सरुवा गर्न तयारी गरेको छ । शिक्षकहरुलाई स्थानीय तहबाट सरुवा भयो भने यसले राम्रो परिणाम निस्कनेमा जनप्रतिनिधिहरुको समान धारणा रहेको छ । तर लहान नगरपालिकाले गर्ने सरुवा सिरहा जिल्लाका विभिन्न संघ संगठन, मञ्च लगायतका अगुवा शिक्षकहरुको लागि असहय भएको छ । सरुवा रोकन प्रतिस्पर्धामा रहेका संघ संगठनका नेतृत्वहरु लहानले थाल्ने सरुवालाई आउने दिनमा अन्य बाँकी रहेका १६ स्थानीय तहहरुमा पनि लागु भए यसले राम्रो नहुने तर्क गरेर जसरी पनि लहान नगरपालिकाले शिक्षकहरुलाई गर्ने सरुवा रोक्न लकडाउनमा पनि विभिन्न चरणको वैठकहरु बसेर रणनीति तयार गर्न लागि परेको छ ।
शिक्षकको सरुवा नियमित रुपमा अन्य विभागहरुमा भए जस्तो हुनुपर्ने तर्कहरु पहिलेदेखि नै विभिन्न शैक्षिक अगुवाहरुबाट आएपनि यसलाई व्यवहारिक रुप दिएको थिएन । यसको लागि देशैभरीमा केहि पालिकाहरुले यसको अभ्यास गरेको छ भने लहान नगरपालिकाले पहिलो चरणमा प्राथमिक तहलाई, दोश्रो चरणमा निम्न माध्यमिक र तेस्रो चरणमामा माध्यमिक तहमा समेत सरुवा गरेर नयाँ शिराबाट शिक्षा क्षेत्रलाई सुधार गर्ने निर्णयमा पुगिसकेको छ । शिक्षकको रुवा किन नहुने ? सरुवाबाट शिक्षक किन डराउने ? पालिकाभित्रै हुने सरुवाले त शिक्षकको वृत्ति विकास समेत हुनुको साथै जक्रिएको विकृति समेत सफा हुने र शिक्षामा सुधार हुने मनसाय अधिकांश सामाजिक अगुवाहरुमा, राजनीतिक दलका नेतृत्वहरुमा रहेकोले लहान नगरपालिकाको यो निर्णयलाई जन स्तरबाट स्वागत गरिने देखिएको छ ।
यता शिक्षक सरुवालाई रोक्न शैक्षिक दलाली गरेर आफ्नो प्रगति बाहेक केहि नगर्नेहरु यसलाई मुद्दा बनाएर आन्दोलन गर्न समेत उक्साउने काम पनि भइरहेको छ । जनप्रतिनिधिहरुले सरुवा गर्दा अन्यायपूर्ण तरिकाबाट गर्नु हुँदैन, महिला अपाङग,दुई चार वर्ष मात्रै जागीर अबधी रहेका शिक्षक शिक्षिकाहरुको हकमा सोच्नै पर्ने हुन्छ । हरेक दुई शैक्षिक सत्रमा सरुवालाई नियमित प्रक्रियामा नै राख्नुपर्ने देखिन्छ । निजी विद्यालयका शिक्षकहरु कतिलाई अध्यापन अनुमति पत्र छैन, कम तलव खाएर पनि राम्रो र गुणस्तरीय शिक्षा कायम गर्न सफल भएको छ तर शिक्षक सेवा आयोगबाट प्रतिस्पर्धामा खारिएर आएका शिक्षकहरुबाट किन गुणस्तरीय शिक्षा दिन सकिरहेको छैन ?
हरेक शिक्षकले समेत आफू पढाउने सामुदायिक विद्यालयमा आफ्ना छोरा छोरीहरुलाई भर्ना नगराएर किन निजी विद्यालयमा भर्ना गराउन लागि परेका छन् ? विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेपनि सामुदायिक विद्यालय राजनीति गर्ने अखडा बनिरहेको छ । विभेदपूर्ण शिक्षाले समान नागरिकको उत्पादन गर्न सक्दैन भने शिक्षामा एकरुपता भएन भने देशमा समाजवाद स्थापना गर्न नसक्ने निश्चित नै रहेको छ । तराई मधेशका जिल्लाहरुमा कि त छोरा छोरीलाई राम्रो शिक्षाको नाँउमा महँगो शुल्क तीर्न र छोरी बहिनीलाई विवाहमा दाइजो दिन चाहिने रकमको लागि वैदेशिक रोजगारमा जानुपर्ने बाध्यताहरु रहेको छ । सरुवाबाट भयभित हुनुपर्ने कुनै कारण छैन । लहान नगरपालिकाको शिक्षकलाई लहान नगरपालिका भित्रै पढाउने काम भइरहेको छ । वडा फरक हुन सकिन्छ, पाँच मिनेटमा पुग्ने ठाँउमा दश मिनेट लाग्ला ? यसले के समस्या भयो ? सरुवा यस कारण पनि आवश्यक छ कि एकै ठाँउमा दशकौ काम गरिरहेका शिक्षक शिक्षिकाहरुमा गति मति कम हुनुको साथै अल्छीपना पनि देखिएको छ । जाँगर कम हुँदै गएको छ ।
समाजललाई आफ्नो वशमा गरेर पढाईभन्दा अन्यत्रै हिँडाइले महत्व पाएको छ । लहान नगरपालिकाकले सरुवाको निर्णय गरेर सहासिक क्रान्तिकारी कदम त चाल्यो साथसाथै सामुदायिक विद्यालयको सुधारको लागि समेत थप पयाकेजहरु ल्याउन जरुरी छ । शिक्षकहरुको मनोवल बढाउन प्रोत्साहन भत्ता थप्न पनि कार्यक्रम आउन जरुरी छ । शिक्षक सरुवमो विषयलाई लिएर शिक्षकहरुले गर्ने आन्दोलनको साथ जन स्तर र राजनीतिक दलहरुबाट होला जस्तो देखिदैन । कुनै पनि परिवर्तनको लागि सुरुमा समस्या त हुन्छ नै । यसको लागि लहान नगरपालिका शिक्षा शाखाले हिम्मत गर्नु पर्छ । जानस्तरबाट यस कार्यमा साथ पाउने निश्चित छ । सिरहा जिल्लामा शिक्षकको हक हितको लागि क्रियाशिल नेपाल शिक्षक संघ,नेपाल राष्ट्रिय शिक्षक संगठन , अखिल नेपाल शिक्षक संगठन , लगायत सबैको छाता र साझा संगठन नेपाल शिक्षक युनियन हाल शिक्षक महासंघ कुनैपनि संगठनले सामुदायिक विद्यालय सुध्रिनुपर्छ भने माग राखेर कार्यक्रम गरेको छैन ।
सामुदायिक विद्यालय सुधार गर्दै निष्पक्ष तरिकाले शिक्षकहरुको हक हितमा समर्पित भएर पनि काम गरेको भए, आज सिरहा जिल्लाको सामुदायिक विद्यालयको अवस्था यस्तो दयनीय हुन पुग्ने थिएन । कुनै समयमा लहान स्थित पशुपति माध्यमिक विद्यालय मटियर्वा र बस्तीपुर माध्यमिक विद्यालय बस्तीपुरमा भर्ना हुन विधार्थीहरुलाई प्रवेश परीक्षा दिएर भर्ना हुनुपर्दथ्यो । पशुपति माध्यमिक विद्यालयको प्रधानाध्यापक स्वर्गीय कामेश्वर चौधरी र बस्तीपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक पद्यमनागेश्वर वराल, चन्द्ररञ्जन बरालललाई समाजले श्रदापूर्वक हेरेका थिए भने जिल्ला शिक्षा कार्यालयका शिक्षा अधिकारी समेत उहाँहरुको अगाडि नस्तमष्तक हुन्थे । दुबै विद्यालयको परीक्षाफलल पनि उच्च हुन्थे । तर आजको दिनमा ती विद्यालयहरुको अवस्था दयनीय भएको छ । त्यस विद्यालयका प्रधानाध्यापक र अन्य शिक्षकहरु निजी विद्यालयमा कक्षा लिएर आफ्नो नीति र नैतिकतालाई समेत ख्याल नगरेको अवस्था कसैबाट लुकेृको छैन । लहान नगरपालिकाले कृषि , शिक्षा, स्वास्थ्य , सडक र खानेपानीलाई ध्यानमा राखेर जनहित गर्ने कार्यलाई अगाडि बढाउन हिम्मत गरोस यसको लागि सहयोग र साथ सबैको हुनु आवश्यक छ ।
जुन शिक्षकहरुले भन्छन् नगरमा हाम्रो पाटीको सरकार छ अनि हामीलाई नै सरुवा गरयो भने चुनावमा प्रतिकूल असर पर्छ । यस्तो भनाई सहयोगी र साथ दिने भनाई पक्कै पनि होइन । सहयोगीहरुले त प्रतिष्पर्धामा उत्रेर निजी विद्यालयभन्दा सामुदायिक विद्यालयलाई बनाई दिने हो भने त्यो ठूलो सहयोग हुनेछ । मासिक तलव, राम्रो काम गरे वापत प्रोत्साहन भत्ता लगायतका सुविधाहरु शिक्षकहरुलाई दिन नगरपालिका शिक्षक मैत्री हुन जरुरी छ भने शिक्षकहरु समेत सरुवा प्रक्रियालाई समर्थन गर्न आवश्यक छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A