फिरोज सिद्दिकी
सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले विभिन्न स्थानबाट सङ्कलित अवैध घरेलु मदिरा नष्ट गरेको छ । स्थानीय जनप्रतिनिधिको रोहबरमा प्रहरीले बरामद गरिएको पाँच हजार ५ सय २५ लिटर मदिरा नष्ट गरेको हो ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले सडक किनारमा रहेको ढलमा अवैध घरेलु मदिरा नष्ट गरेको जानकारी दिनुभयो । उहाँका अनुसार तयारी अवस्थाको २ सय २५ र कच्चा पदार्थका रुपमा रहेको पाँच हजार ३ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको हो।

सोमबार विहान इलाका प्रहरी कार्यालय धनगढिबाट खटिएको प्रहरी टोलीले धनगढीमाई नगरपालिका वडा नम्बर २ र १० बाट तयारी अवस्थाको एक सया ८५ लिटर, कच्चा पदार्थ चार हजार ५ सय लिटर र मदिरा बनाउन प्रयोग हुने भाडा वर्तन १२ थान नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी गोलबजारबाट खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका वडा नम्बर ६ बाट अवैध रुपमा संचाल गरेको घरेलु मदिरा तयारी अवस्थाको ४० लिटर, कच्चा पदार्थ ८ सय लिटर र मदिरा बनाउन प्रयोग हुने भाडा वर्तन १५ थान नियन्त्रणमा लिइ नष्ट गरिएको जनाइएको छ ।
गाउँघरमा छ्याप्छ्याप्ती पाइने घरेलु मदिराका कारण हिंसात्मक घटना हुनसक्ने भएकाले प्रहरीले अवैध मदिरा बरामद गरी नष्ट गर्ने अभियान नै चलाएको छ ।

त्यस्तै, इलाका प्रहरी कार्यालय बरियारपट्टीले ३२ हजार ५ सय बराबरको लत्ताकपडा र स३प ७३३५ नम्बरको मोटर साईकल नियन्त्रणमा लिएको छ । भारतबाट नेपालतर्फ भन्सार छली ल्याउदै गरेको अवस्थामा नियन्त्रणमा लिएको उक्त सामान आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय ठाडी पठाइएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिनुभयो ।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A