फिरोज सिद्दिकी,
लहान । लहानमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी नौ दिनका लागि लकडाउन हुने भएको छ । कोरोना भाइरसको महामारी छिमेकी जिल्लाहरुमा तीव्र गतिमा फैलिरहेका कारण यसको महामारीले लहानमा हुन सक्ने सम्भावित जोखिमको मध्यनजर गर्दै साउन ३२ गते राति १२ बजेसम्मका लागि लहान नगरपालिकाले लकडाउन गरिएको जनाएको छ ।
कोरोना भाइरस (कोभिड १९ ) को संक्रमण समुदाय स्तरमा देखिन थालेपछि यसको सम्भावित संक्रमण रोकथाम गर्न तथा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावनालाई दृष्टिगतगर्दै विपद् व्यवस्थापन समिति लहानले हाललाई साउन २३ गते राती १२ बजेदेखि लकडाउन जारी गरिएको छ ।
लकडाउन भरीमा औषधि उपचार, खाद्यन्न वस्तु, पेट्रोलियम पदार्थ खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कने भनिएको छ ।
अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, बिरामी बोक्ने गाडी, दमकल, दूध बोक्ने र खाद्यन्न वस्तु बोक्ने सवारी साधन, शव वाहन, स्वास्थकर्मी, सुरक्षाकर्मी, संचारकर्मी निकायले भने प्रयोग गर्न पाउनेछन् ।
चिया पसल, सबै किसिमका हाटबजार, होटेल, रेष्टुरेन्ट, ठेला गाडा, लोकमार्ग बाहेक नगर क्षेत्र भित्र चल्ने सवारी साधन (अति आवश्यक बाहेक) बन्द गर्नुपर्ने लहान नपाका प्रमुख प्रशासकिय अधिकृत खेमनन्दन भुसालले जानकारी दिनुभयो । उहाँले विहान ८ बजेदेखि ११ बजेसम्म खोल्ने र अन्य समयमा सम्पूर्ण रुपमा बन्द राखनु पर्ने बताउनु भयो ।
लहानमा हालसम्म २५ जना कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । जसमध्ये २१ जना निको भएर घर फर्किसकेका छन् भने ४ जना महेन्द्र गेनाई कोभिड अस्पतालको आइसोलेसनमा उपचाररत रहेको लहान नगरपालिकाका स्वास्थ्य संयोजक राम सुन्दर यादवले जनाएको छ ।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A