काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनकै गृहजिल्ला तनहुँमा प्रहरीले पक्राउ गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सरकारमाथि खनिएको छ।
तनहुँ पुगेका पौडेललाई ब्यास नगरपालिका–१, १० र ११ जोड्ने तालघरे–दुम्सीचौर सडकस्थित बुल्दीखोला मोटरेबल पूलको उद्घाटन गर्ने क्रममा भएको प्रदर्शनमा तनहुँ प्रहरीले बुधबार पक्राउ गरेको थियो।
स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाबीच पुल उद्घाटन गर्न अघि बढेका पौडेलले कयौँ कार्यकर्तामाझ धरपकड गरेर नियन्त्रणमा लिएहो । पक्राउ परेपछि वरिष्ठ नेता पौडेलले लाठी चार्ज गर्दै आफूलाई समातेको बताएका छन्।
‘प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु’, उनले भनेका छन्, ’साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस।’
विवादको बीऊ
संघीय सरकारको बजेटमा बनेको उक्त पुल उद्घाटनमा विवाद भएको थियो। कांग्रेस कार्यकर्ता र नेकपानिकट राष्ट्रिय युवासंघका कार्यकर्ताबीच विवाद भएपछि सम्भावित झडप रोक्न स्थानीय प्रशासनले बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाई निषेधाज्ञा लगाइएको थियो।
पौडेलले पुल उद्घाटन गर्ने भएपछि नेकपानिकट राष्ट्रिय युवा संघले विरोध प्रदर्शन तयारी गरेको थियो। त्यहीकारण झडप हुन नदिन भन्दै जिल्ला प्रशासन कार्यालयले बुधवार मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्मका लागि व्यास नगरपालिका १ र १० स्थित चारकिल्ला क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो।
प्रशासनले पृथ्वी राजमार्गमा गुड्ने सवारी साधानबाहेक पश्चिम गल्फुबेंसी, बल्दीखोला पुल, उत्तर रानीगाउँ, पूर्व घाँसीकुवा, मुसिखोला र दक्षिणतर्फ अर्मेनीको चार किल्लामा निषेधाज्ञा घोषणा गरेको थियो।
प्रशासनले ठूलो समूहमा मानिस निस्किँदा कोरोना फैलिन सक्ने भन्दै संक्रामक रोग ऐन ०२० र स्थानीय प्रशासन ऐन०२८ अनुसार निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञा लगाइएकै समयमा पुल उद्घाटन गर्न भन्दै कार्यकर्ताको ठूलो समूह लिएर पौडेल अघि बढेपछि उनलाई नियन्त्रणमा लिइएको तनहुँ प्रहरीले जनाएको छ।
कांग्रेस कार्यकर्तालाई निषेधित क्षेत्रबाट हटाउन प्रहरीले लाठीचार्ज र अश्रुग्यास हानेको थियो। प्रहरीले नेता पौडेलसँगै प्रदेश सांसद सरिता गुरुङसहित केही नेता कार्यकर्तालाई समातेको थियो। संघीय सरकारको बजेटमा बनेको पुल निर्माणको जस पौडेलले लिन खोजेको भन्दै युवासंघले विरोध जनाएको थियो। त्यसपछि दुई पक्षबीच झडपको अवस्था आएको थियो।
कांग्रेसको आक्रोश
यसैबीच वरिष्ठ नेता पौडेलमाथि भएको धरपकड र गिरफ्तारीलाई लिएर कांग्रेस नेताहरुले आक्रोश पोखेका छन्। पौडेललाई पक्राउ गरेपछि सभापति शेरबहादुर देउवाले त्यसको विरोध गरेको छन्। तनहुँमा पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि उनले रिहाइको माग गरेका हुन्।
सभापति देउवाले बुधबार विज्ञप्ति निकालेर तत्काल रिहाको माग गरेका हुन्। नेता पौडेल प्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको आरोप लगाएका छन्।
’सरकारको यो निन्दनीय व्यवहारको भर्त्सना गर्दै तत्काल उहाँलाई रिहाइ गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु,’ उनले भनेका छन्।
वर्तमान सरकारको अधिनायकवादीको आकांक्षाको जग भएको यो घटनाप्रति कडा विरोध गर्दै अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एकढिक्का हुने चेतावनी समेत देउवाले दिएका छन्।
स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले नेता पौडेललाई नियन्त्रणमा लिएको थियो। तनहुँमा पुल उद्घाटन कार्यक्रमका क्रममा कांग्रेस र नेकपानिकट युवा संघबीच विवाद भएपछि निषेधाज्ञा जारी गरिएको छ।
यसैबीच नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वरिष्ठ नेता पौडेल र तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेलाई प्रहरीले नियन्त्रणमा लिनु निन्दनीय भएको बताएका छन्।
’पञ्चायत र राजाको प्रत्यक्ष शासनकाल बिर्साउने गरि प्रमुख प्रतिपक्षी दलको वरिष्ठ नेतामाथि नै धरपकड शुरु गरेर सरकारले आफ्नो अन्त्यको दिनको गणना शुरु गरेको छ’, उनले भनेका छन्, ’नेपाली कांग्रेस आफ्ना नेताहरुमाथि हुने यसप्रकारका दुर्व्यहारप्रति गम्भीर आपत्ति व्यक्त गर्दछु। कार्यक्रमलाई प्रभावित गर्न सत्ताको आडमा कार्यक्रमस्थलमा निषेधाज्ञा जारी गर्ने कार्य भएको छ।’
कांग्रेसका नेता कार्यकर्तामाथि धरपकड गर्ने, स्वतन्त्रतापूर्बक हिँडडुल गर्न पाउने,नागरिक हकविरुद्ध बाटो अवरोध गर्नेजस्ता निन्दनीय कार्य भएको उनले बताएका छन्।
’यो सत्ताको चरम दुरुपयोग हो। यसले नेकपा सरकारको असली चरित्र उदांगिएको छ’, उनले भनेका छन्, ’तत्काल उहाँलाई ससम्मान रिहाइ गर्न माग गर्दै त्यसो नगरिए कांग्रेसले सशक्त प्रतिवाद गर्ने चेतावनी दिन चाहन्छु। घटनाको यथार्थ छानबिन गर्न समेत आग्रह गर्द्छु।’
त्यस्तै कांग्रेसका अर्का नेता शेखर कोइरालाले ब्यास नगरपालिकाले निर्माण गरेको पुल उदघाटन गर्न तनहुँ पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको आपत्ति जनाएका छन्। ’पौडेललाई पक्राउ गरेर प्रहरी प्रशासनले कानुनी राज्यको धज्जी उडाएका छन्’, उनले भनेका छन्, ’यस घटनाको घोर भर्त्सना गर्दै नेता पौडेललाई तत्काल ससम्मान रिहाइको माग गर्दछु।’
अर्का नेता बिमलेन्द्र निधिले पौडेलसहित तनहुँका दर्जनौ कांग्रेस नेताहरुलाई लछार पछार गरि गिरफ्तार गरेको दाबी गरेका छन्। ’सरकारको यो कदमको घोर भर्त्सना गर्दछु’, उनले भनेका छन्, ’स्थानीय तहको निर्णयमा बनाएको पुल उद्घाटनलाई रोक्नु र थुन्नु संघीयता विरोधी र तानाशाही काम हो।’
युवा नेता गगनकुमार थापाले वरिष्ठ नेता पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप सरकारकै निर्देशनमा भएको आरोप लगाएका छन्। ’वरिष्ठ नेता पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन र होइन’, उनले भनेका छन्, ’यो नियोजित हो, राजनीतिक प्रतिशोध हो। शक्ति उन्माद हो। यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ। केपी शर्मा ओली यो तपाईंका लागि निकै महँगो पर्नेछ।’
के भन्छन् सिडिओ
उता तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले भने वरिष्ठ नेता पौडेलले ठूलो संख्यामा कार्यकर्तासहित निषेधाज्ञा तोडेकाले पक्राउ गर्नुपरेको बताए।
‘नेता पौडेलले निषेधाज्ञा तोड्नुभयो’ प्रजिअ सागर आचार्यले भने, ‘निषेधाज्ञा तोड्दा तनाव बढ्न सक्थ्यो। अवान्छित समूहरु घुसपैठ गरेर पौडेलको जिउ ज्यानमा खतरा हुन सक्ने देखेपछि नियन्त्रणमा लिनु परेको हो।’
प्रजिअ आचार्य कोरोना भाइरस संक्रमण उच्च रहेकाले उक्त कार्यक्रम रोक्न भनिएको बताए। तर पौडेलले नमानेपछि झडप हुने अवस्था रोक्नका लागि हस्तक्षेप गर्नुपरेको जानकारी आचार्यले दिएका छन्।
थाहा खबरबाट
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A