समृद्धिपथ समाचारदाता,
लहान । लहान नगरपालिकाका उपप्रमुख सरियार कुमारी चौधरीले बढ्दो आत्महत्याको घटना रोक्न सबै संघ सस्था, स्थानीय निकाय, पत्रकार सरोकारवालाहरु सबै मिलेर रोकथाममा लाग्नु पर्ने बताउनु भएको छ ।
२९औं लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘आत्महत्याको अवस्था र हाम्रो दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा आइतवार यस्तो बताउनु भएको हो ।
बढ्दो आत्महत्याको घट्ना रोक्न सबैपक्ष उतिकै जिम्मेबार हुनुपर्ने भन्दै आत्महत्याका घट्नामा कमि ल्याउन लहान नगरपालिकाले बजेट विनियोजन गरेर सामाजिक परामर्शदाताहरुलाई खटाएर घट्ना न्यूनिकरणतर्फ ठोस पहल गर्ने नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक सरियार कुमारी चौधरीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले कम उमेरमा प्रेम विवाह गरेकाहरु एक दुई वर्षमा सम्वन्ध विच्छेद गराउने र महिलाहरुलाई परिवारिक र सामाजिक अपहेलना खेप्नु परेकोले आत्महत्या गर्नु परिरहेको विभिन्न कारणहरुमधये एक प्रमुख कारण रहेको छ । दाइजो र वालविवाहलाई निमूलीकरण नगरे आत्महत्यालाई नियणत्रणमा लिन चुनौती छ ।

पछिल्लो अवस्थामा नेपाली समाजमा आत्महत्याका कारणहरु हेर्दा, सामाजिक सञ्जाल र सञ्चार उपकरणहरुको दुरुपयोग अर्को महत्वपूर्ण कारण भएको छ । सञ्चार उपकरणबाट एक आपसमा जोडिँदै जाँदा प्रेम सम्वन्धसम्म पुग्ने, पछि परिवारका कारण छुट्टिने अवस्था आउने वा धोका पाउने, बालबिवाह र बहुबिवाह बढी हुने, ढाँटेर अर्को बिवाह गर्ने जस्ता घटनाहरु हुँदै जाने र अन्ततः आत्महत्याको तहमा पुग्ने गरेको बताउनु भयो ।
इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरिक्षक सुभाष खतिवडाले प्रस्तुत गरेको तथ्यांक अनुसार विगत पाँच महिनामा २४३ आत्महत्याका घट्ना घटेको जानकारी दिदै तनाव सहन नसकेर, घरले हिंसा, दाइजो र वेरोजगारी, सामाजिक पारिवारिक अपहेलनाको कारण आत्महत्याको घट्नाहरु वढ्दै गएको प्रहरी अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।
उहाँको अनुसार इलाका प्रहरी कार्यालय लहानको कार्यक्षेत्रभित्र पर्ने पाँच महिनामा आत्महत्या गरेकाहरुमधये ६५ प्रतिशत महिला १५ देखि ४९ वर्ष समूहका रहेका छन् । आत्महत्या गर्ने कारणहरुबारे परिवार र समाजले सहि सत्य जानकारी प्रहरीलाई नगराँउदा अनुसन्धानमा समस्या भइरहेको छ।

भगवानपुर गाँउपालिका अध्यक्ष बेचन प्रसाद यादवले आत्महत्याको कारण पत्ता लगाई आत्महत्या गर्न बाध्य बनाउने जोसुकैलाई कानुनी दायरामा ल्याउन नसक्दा आत्महत्या शहरी क्षेत्र भन्दा ग्रामीण क्षेत्रमा बढी भएपनि कतिपय घट्नाहरु बाहिर आउन नसकोको जानकारी गराउनुभयो ।
इलाका प्रशासन कार्यालय लहानका प्रमुख प्रेम कुमार देवकोटाले हृदयमा चोट लाग्ने खालका शब्दहरुले समेत आत्महत्या भइरहेकोले सामाजिक व्यावहारिक ज्ञानको साथै कानुनी रुपमा समेत जागरुक्क बनाउन जरुरी रहेको सुझाव दिनुभयो ।
लहान नगरपालिकाका वडानम्बर ६, ९, १२, १३, १५, १६, १७ र २४ का वडाधयक्षहरु क्रमशः अरुण केसी, प्रदिप कुमार चौधरी, बद्री नारायण चौधरी, इश्वर वाहादुर बस्नेत, तेज नारायण चौधर, गरुल वाहादुर जर्घा मगर, प्रथमलाल चौधरी र कमल देव यादवले आत्महत्या न्यूनिकरण गर्न वडा स्तरमा सरोकारवालाहरुलाई समेत राखेर एक समिति निर्माण गरि जनचेतना बढाउने कार्यक्रमहरु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

हरेक व्यक्तिका ईच्छा, चाहना, आवश्यकताहरु हुन्छन् । उसले ती ईच्छा, चाहना, आवश्यकताहरुलाई परिपूर्ति गर्न चाहान्छ । तर, समाजले उसलाई छुट दिँदैन । यस्तो अवस्थामा आवेशमा गरिएको निर्णयले व्यक्ति अप्राकृतिक मृत्युवरण गर्छ । व्यक्तिलाई आत्महत्याको तहसम्म पु¥याउन समाज उत्प्रेरकको भूमिका गर्छ ।
उदाहरणका लागि पछिल्लो समयका आत्महत्याका घटनाहरुलाई लिन सकिन्छ । युवा–युवतीवीच प्रेम सम्वन्ध भयो, उनीहरु बिहे गर्न चाहान्छन् तर समाजले जातको नाममा, धर्मको नाममा, वर्गको नाममा वा यस्तै कुनै वहानामा उनीहरुलाई बिहे गर्ने अनुमति दिँदैन । सँगै मर्ने, सँगै जीउने बाचाका साथ प्रेम गरेको युगल जोडी छुट्टिनु पर्दा युवा वा युवती वा दुवै आत्महत्याको तहमा पुग्छन् ।
त्यस्तै परीक्षामा असफल हुँदा धिक्कार्ने हाम्रो समाज बेरोजगार हुँदा ‘निकम्मा’ उपमा दिन्छ । यी र यस्ता कतिपय सामाजिक कुराहरु छन्, जसले गर्दा व्यक्ति आत्महत्याको तहमा पुग्छ । त्यसकारण आत्महत्याको मुख्य कारण समाज नै हो ।
बच्चाहरुको बढ्दो महत्वाकाङ्क्षा र आफ्नो आयश्रोतको तालमेल मिलाउन नसकेर आत्महत्या गर्नेहरू पनि भेटिएका छन् भने अर्कोतर्फ अभिभावकहरुले छोडेर हिँडेपछि उनीहरूका बच्चाहरुको एक्लोपन र गलत सङ्गतले नशालु पदार्थ एवं कुलतमा फस्ने गरेको पनि भेटिन्छ।
अभिभावकहरुको अनुपस्थितिमा जीवनलाई नबुझ्दै गर्ने ‘लिभिङ् टुगेदर रिलेसनसिप’मा धोका, अविश्वास र अपरिपक्व अवस्थामा रहेको अवैध गर्भाधारणले युवायुवतीहरुलाई आत्महत्या गर्न बाध्य बनाएको भेटिन्छ र वृद्धवृद्धाहरुले आफ्नै सन्तानबाट सहनु परेको अपहेलना र मानसिक तनाव आर्थिक अभाव, विभिन्न किसिमका रोगहरुलाई खप्न नसकेका कारण समेत आत्महत्या गर्ने गरेको पाइन्छ ।
सिरहा जिल्लामा महिला मानव अधिकारकर्मी रेणु कर्ण, गीता साह लगायतका महिलाहरु यस विषयमा वृहत्त अभियान स्थानीयतहसँग समन्वय गरी साथ साथ सिकाइ समुहबाट संचालन गरिने जानकारी दिनुभयो ।

गोलबजार नगरपालिका २ की प्रमिला महतोले आफ्नै सासुरा र देवरबाट पीडित भएको सुनाँउदै महिला अधिकारकर्मीहरुको साथ पाएर न्यायाको लागि आदालत पुगेको अनुभव साट्दै पीडा सहन नसकेर महिलाहरु आत्मअत्या गर्नुपर्ने विवसता रहेकोले छिटो न्याय पाउनुपर्ने माग गर्नुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A