लहान । आज माघे संक्रान्ति पर्व । देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । नेपालीमा परम्परागत रुपमा मनाउंदै आइरहेको अर्को प्रचलित चाडको नाम हो माघे संक्रान्ति, यसलाई बिभिन्न नामले पुकार्ने गरिन्छ, जस्तै मकर संक्रान्ति, माघी, माघे संक्रान्ति आदि आदि, जुन माघ महिनाको पहिलो दिनमा पर्दछ ।
उक्त दिन नेपालमा सार्वजनिक बिदा दिने गरिन्छ । माघे संक्रान्तिका दिन नेपालमा विभिन्न नदीनाला, सागर तथा त्रिवेणीमा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन रहेको पाइन्छ । माघे संक्रान्तिका दिनबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले नै “मकर संक्रान्ति” भनिएको हो भन्ने भनाइ रहँदै आएकोछ ।
आजको दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फबाट प्रवेश गर्ने हुँदा दिन लम्बिँदै जाने र रात छोट्टिँदै जाने विश्वास गरिन्छ । माघे सक्रान्तिका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भन्दो र मकलसहितको सीदा दाङ गरेमाबिशेष प्राप्त हुने र उक्त फल आफूले खाएमा शरीर पोषिलो हुनुका साथै रोगब्याधी नलाग्ने कुराको उल्लेख भविष्य पुराण, विश्नुबचन तथा धर्म सिन्धुमा उल्लेख गरेको पाइन्छ । बिबिध जाति र समुदायको बाहुल्यता रहेको नेपालमा यो पर्व सबैले मनाउने गरेको पाइन्छ ।
तराई मधेशका जिल्लाहरूमा यसलाई तिला सङ्क्रान्ति पर्वका रूपमा मनाउँछन् । तराईमा यस दिन खिचडी, तिल र चिउराका लड्डुलगायतका परिकार बनाएर खाने गरिन्छ ।
यस्तै माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । थारु समुदायमा माघी महोत्सवको रौनक छाएको छ । थारु समुदायले आजको दिनलाई नयाँ बर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् । आजदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गएको छ । आज बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने थारु समुदायको परम्परा छ ।
मगर जातिहरुले यस पर्वलाई ३ दिनसम्म बिशेष धुमधामका साथ् मनाउने गर्दछन् । पहिलो दिन स्नान गरेर पुर्खा तथा कुलायनको पूजा गर्ने र दिदीबहिनीलाई “निशो” ले पुज्ने प्रचलन छ । दोस्रो दिन माघ खान बनभोजको रुपमा टाढा जाने गर्दछन् भने अन्तिम दिन गाउँभरिका पुरुषहरु मिलेर तारो हान्ने चलन छ ।
हिजोआज भने माघे सक्रान्ति देश विदेश जतासुकै मनाउने प्रचलन बढ्दै गएकोछ । तिलका लड्डु, चाकु, तारुल र सेलरोटी जस्ता विभिन्न परिकारको साथमा माघे सक्रान्तिको रमझम गर्ने गरेको पाइन्छ । जाडोयाममा पर्ने यो चाडमा शरीरलाई न्यानो राख्न सहयोग पुर्याउने खाध्य सामाग्रीहरुको प्रयोग गरिनु स्वास्थ्यको हिसाबले पनि लाभदायक देखिन्छ । शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A