रामभरोसी महतो,
लहान । सहज परियोजनाका कारण विद्यालयहरु लैंगिक मैत्री विद्यालय तर्फ उन्मुख भएको सिरहा र सप्तरीमा भएको एक कार्यक्रममा सहभागी विद्यालयका सरोकारवलाहरुले बताएका छन् ।
समग्र जन उत्थान केन्द्र लहानद्धारा सिरहाको सिरहा नगरपालिका सप्तरीको राजविराज नगरपालिका, बोदेबरसाइन नगरपालिका र तिलाठीकोइलाडी गाँउपालिकामा हालै सम्पन्न विद्यालय सुधार योजना तथा लैंगिक तथा सामाजिक रुपान्तरण सम्बन्धी असल अभ्यास अनुभव आदान प्रदान कार्यक्रममा सहभागी विद्यालयका सरोकारवलाले यस्तो बताएका हुन् ।
सप्तरीको तिलाठीकोइलाडी गाउँपालिकामा मंगलवार सम्पन्न सो कार्यक्रममा सहभागी राजेन्द्रदेवकी माध्यमिक विद्यालयका प्रधानअध्यापक दिपेन्द्र झाले सहज परियोजनाको गतिविधिको प्रभावले विद्यालय लैंगिक मैत्री वातावरण तर्फ अगाडि बढन सहयोग पुगेको बताउनुभयो । वहाँले सहज परियोजना अन्तरगत विद्यालयलाई केन्द्रित भएको गतिविधिले लैंगिक संवेदनशिल तथा हानिकारक सामाजिक मुल्य मान्यता रुपान्तरणका सन्दर्भमा सचेतना अभिवृद्धि भएको बताउनु भयो । प्रअ झाले विद्यालय बनाउने गरेको विद्यालय सुधार योजनामा समेत लैंगिक मैत्री सवालहरुलाई उल्लेख गरिएको बताउनु भयो । यस्तै ल.व.न. माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुलाब सिंहले सहज परियोजनाले गर्दा विद्यार्थीहरुमा आत्मविश्वस बढनुको साथै उनीहरु लैंगिक हिंसा रुपान्तरणका लागि बाल विवाह समेत रोक्न सफल भएकोले परियोजनाको अझै आवश्यक रहेको बताउनु भयो ।
यस्तै जनता माध्यमिक विद्यालयका प्रअ रमेश झाले सहज परियोजनाले केही विद्यालयमा गरेको गतिविधिले विद्यार्थी, शिक्षक र अभिभावकमा समेत लैंगिक तथा सामाजिक रुपान्तरण सम्बन्धी सचेतना अभिवृद्धि भएकोले यस्तो कार्यक्रम सबै विद्यालयमा आवश्यक रहेको बताउनुभयो ।
यस्तै सिरहामा आइतवार सम्पन्न सो कार्यक्रममा चन्द्र नमुना विद्यालयका प्रअ मधुसुदन कर्णले परियोजनाको सुरुवातमा आफुले खासै वास्ता नगरेको तर पछि कार्यक्रममा सहभागी हुँदा आफुमा नै धेरै रुपान्तरण भएको बताउनु भयो । वहाँले सहज परियोजनाको गतिविधिले विद्यालयमा रहेको बाल क्लवका विद्यार्थीहरुमा नेतृत्व क्षमता विकास हुनुको साथै बाल क्लवले नै विद्यालयमा अतिरक्त क्रियाकलापको सफल तरिकाले सञ्चालन गर्ने गरेकोमा शिक्षकहरुलाई समेत प्रेरणा मिलेको बताउनु भयो । यस्तै बाल मन्दीर माध्यमिक विद्यालयका प्रअ संजय यादवले सहज परियोजनाको कारण विद्यालयका विद्यार्थीहरुमा निर्धकसंग बोल्न सक्ने क्षमताको विकास हुनको साथै समुदायमा रहेको लैंगिक हिंसा विरुद्ध विद्यार्थी, शिक्षक र अभिभावकमा प्रभावकारी तरिकाले सचेतना अभिवृद्धि भएको बताउनु भयो ।
कार्यक्रममा सहभागी प्रअ, शिक्षक, विद्यालय व्यवस्थपान समितिका प्रतिनिधिहरुले सहज परियोजना अन्तरगत विद्यालयमा भएको गतिविधि अत्यन्त आवश्यक रहेको बताउँदै परियोजनाको अनुपस्थितीमा समेत निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रम अधिकृत रामभरोसी महतोले सञ्चालन एवम् सहज परियोजना व्यवस्थापक कृष्णकुमार साहको अध्यक्षतामा भएको सो अनुभव आदान प्रदान कार्यक्रममा सम्बन्धित पालिकामा रहेका सम्पूर्ण माविका प्रअ, शिक्षक प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, अभिभावक, बाल क्लवका प्रतिनिधि, भिएसओका लैंगिक तथा समावेशीकरण विज्ञ रिना चौधरी र रत्ना श्रेष्ठ, लैंगिक हिंसा विज्ञ सुनिल कुमार साह लगायतको सहभागिता रहेको कन्सलटेन्ट कार्यक्रम अधिकृत अकवर अंसारीले जानकारी दिनुभयो ।
युकेएडको आर्थिक सहयोगमा भिएसओ नेपाल र इन्टरनेशनल अलर्टको साझेदारीमा समग्र जन उत्थान केन्द्रद्धारा प्रदेश २ मा सञ्चालित सहज परियोजना अन्तरगतको विद्यालय केन्द्रित पद्धतीको कार्यक्रममा सिरहाको सिरहा नगरपालिकाको चन्द्र मावि, बाल मन्दिर, सप्तरीको बोदेवरसाइनस्थित चन्द्रा नमुना मावि, महेन्द्र चुनी मावि, राजविराज नगरपालिका स्थित पब्लिक विन्देश्वरी मावि, केअ मावि र तिलाठी कोइलाडी गाउँपालिकास्थित ल.व.न. मावि र राजेन्द्र देवकी मावि गरी आठ वटा विद्यालयलाई केन्द्रित गरी सञ्चालनमा रहेको केन्द्रका कार्यक्रम अधिकृत रामभरोसी महतोले जानकारी दिनुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A