न्यूयोर्क । मिथिला सेंटर यु.एस.ए.को आयोजनामा मिथिला महोत्सव अमेरीका २०२१ आजदेखि अमेरीकाको न्यूयोर्क शहरमा सुरु हुने भएको छ । मिथिला कला र संस्कृतीको प्रवद्र्धन र प्रदर्शन गर्नुको साथै मिथिला कलाको माध्यमबाट संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यको प्रदर्शन गर्ने निरन्तर प्रयास रहेको आयोजकले जनाएको छ ।
अप्रिल महिनाको १४ देखि १७ तारिखसम्म चल्ने यस वर्षको मिथिला महोत्सव अमेरीकाको मुल नारा “दिगो विकास लक्ष्यको लागी कलाः मिथिला सम्पदा’’ भएकोले दिगोविकास लक्ष्यको लक्ष्य ३ (सुस्वास्थ्य तथा समृद्ध जीवन) लाई केन्द्रित गरी कोभिड–१९ विरूद्ध सावधानी र निरोधात्मक उपायहरूसम्बन्धमा सामुदायिक जागरूकता बढाउने तर्फ अग्रसर हुने आयोजक तथा मिथिला सेंटर अमेरीकाका संस्थापक अमित शाहले जानकारी दिनुभयो ।
प्रथम मिथिला महोत्सव अमेरीका सन् २०१९ को अप्रिलमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा प्रारम्भिक चित्रकला प्रदर्शनी उच्च सफलताकासाथ सम्पन्न भए थियो ।
आयोजक तथा मिथिला सेंटर अमेरीकाका संस्थापक शाहका अनुसार ‘मिथिला महोत्सव र कला प्रदर्शनीको आयोजनाले यु.एस.ए.तथा अन्य राष्ट्रहरूस्थित हाम्रो समुदायले सांस्कृतिक पर्वको रूपमा मनाउने मात्र नभई संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहासिल गर्ने सन्दर्भमा मिथिला सम्पदाबाट हुनसक्ने योगदानबारे सामुदायिक चेतना बढाउन पनि सहयोग पुग्ने हाम्रो विश्वास रहेको छ । साथै, मिथिला राजा सलहेश जयन्ती समारोह, नव वर्ष तथा जुड़ शीतल पर्व र मिथिला साहित्य सम्बन्धी कार्यक्रमहरू पनि यसवर्षको मिथिला महोत्सव अमेरिकामा समावेश गरिनेछ ।’
दक्षिण एशियामा मिथिला संस्कृतिले आफ्नो एक विशेष संस्कृतिको पहिचान बनाएको छ । यु.एस.ए.मा सबैभन्दा बढी मिथिला समुदायका व्यक्तिहरु दशकौंदेखि बसोबास गरेका न्यूयोर्क र न्यूजर्सी शहरहरू हुन् ।
मिथिला सेंटर अमेरीकाका संस्थापक शाहले मिथिला महोत्सव अमेरिका २०२१ को बारेमा बताउदै भन्नुभयो – मिथिला कला संसारभर प्रख्यात छ । महिला आर्टिस्टहरुको विशेष योगदानले नै मिथिला चित्रकला विभिन्नरुपमा शताब्दीऔंदेखि अस्तित्वमा छ। घरको भित्तामा बनाइने चित्रकलाकालागि महिला आर्टिस्टहरु प्रख्यात छन् र सो सम्बन्धी ज्ञान उनीहरुबाट नै नयाँपिढीहरुमा हस्तान्तरण हुँदैआएको छ । मिथिला कलाले पौराणिक र धार्मिक विषयहरुका अतिरिक्त सामाजिक टिप्पणी एवम् सिंगार सजावट सम्बन्धमा पनि प्रस्तुत गर्दछ । मिथिला चित्रकलालाई समकालीन र संकलनीय कलाको रुपमा हाल मान्यता दिईएको छ । महिला वा पुरुष आर्टिस्टका हातहरूले बनाएका कागजका तैलीय चित्रहरु माटोका भित्तामा बनाइएका चित्रहरु जस्तै छन् । विश्वका विभिन्न आर्ट ग्यालरीहरुमा मिथिला चित्रकलाको प्रदर्शन भएको छ र यसबाट ग्रामीण समुदायका विपन्न महिलाहरुकालागि आयआर्जनको श्रोत पनि बढाउने नयाँ किसिमको घरेलु उद्योग फस्टाउने संभावना बढेको छ ।
हामी अहिले कोभिड–१९ को महामारीको कारणले एकदमै कठीन समयबाट गुज्रिरहेका छौं । हामी पूर्ण विश्वस्त छौं कि यस्ता सांस्कृतिकचाडपर्व मनाउने कार्यबाट हामीबीच सामन्जस्यता, सौजन्यता, धैर्यता र साहस बढाउन र शान्ति र समृद्धिकोलागि सामुदायिक एकतासुदृढ गर्न तथा कोभिड–१९ महामारीको विरूद्धमा साबधानी र निरोधकालागि सामुदायिक जागृति बढाउन पनि मद्दत पुग्नेछ ।
विगतमाझैं, मिथिला महोत्सव अमेरिका २०२१ को पनि सफलतापूर्वक आयोजना गर्न यहाँहरूको सराहनीयसहभागिता, सहयोग, समर्थन तथा सुझाव हामीलाई प्राप्त हुने नै छ भन्ने विश्वास लिएकाछौं।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A