जिवछ उदासी
नेकपा एमालेका केन्द्रिय सदस्य तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादवले केपी ओलीको विरोध गरेर विभाजनको पछि लाग्नेहरुको पतन निश्चित रहेको बताउनु भएको छ ।लहान १३ र १४ नम्बरको वडा प्रथम वडा अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
केपी ओली महाधिवेशनबाट आएको अध्यक्ष भएकोले उहाँलाई महाधिवेशनबाटै हटाउने विधि र पद्धतिलाई मिचेर विभाजनको पछि नलाग्न उहाँले आग्रह गर्नुभयो । एमालेबाट विभाजन गरेर माले हुँदा एक स्थानमा पनि चुनाव नजितेको इतिहास साक्षी रहेको छ । मालेभन्दा पनि खराव अवस्था नेकपा एकिकृत समाजवादीको हुने नेता यादवले ठोकुवा गर्नुभयो ।
१५ वर्षसम्म निरन्तर पार्टीको महासचिव भएर पार्टी हाकेको वेला एमाले २०६४ सालको संविधान सभाको निर्वाचनमा ३३ स्थानमा खुम्चिनु परेको थियो । केपी ओली नेतृत्वमा आँउदा एमाले देशको ठूलो पार्टी भएकोले जनमनको नेता ओली नै भएको नेता यादवले तर्क गर्नुभयो ।
उहाँले भन्नुभयो,‘आउने चुनावमा नेकपा एमाले तीनै तहको चुनावमा फेरि बहुमतको साथ चुनाव जित्ने छ । पार्टीका हरेक तहका नेता कार्यकर्ताहरु पार्टीको नीति सिद्यान्त र विचारलाई व्यववहारमा उतारेर अघि बढ्न जरुरी छ ।
पहिलेको बस्तीपुर गाविस अहिले लहान नगरपालिकाको १३ र १४ नम्बर वडा भएको छ । गाँउ पञ्चायत हुँदा त्यतिवेलाका मालिक भनाँउने गिरीहरुसँग पहिलोपटक किसानको छोरा भएर उपप्रधानपञ्च भएर यस ठाँउमा कम्युनिष्ट पार्टिको आधारशिला कायम गरेको इतिहास स्मरण गराँउदै नेता यादवले भन्नुभयो,‘१३ र १४ नम्वर वडा त हामी जित्छौ जित्छौ लहान नगरपालिका फेरि एमालेले नै जित्ने गरी संगठनको रफतार अगाडि बढाउनुपरयो ।’
चार दलको गठबन्धन लहानमा नगरपालिकाले गरिरहेको विकास रोक्नको लागि भएकोले विकास विरोधीहरुलाई जनताले आउने चुनावमा पाखा लगाउने निश्चित रहेको उहाँले दावी गर्नुभयो ।
उद्घाट्न कार्यक्रममा नेकपा एमालेका प्रदेश २ का सदस्य मागैन कामैतले कम्युनिष्ट पार्टीको सदस्य हुनु र अन्य पार्टीको सदस्य हुनुमा फरक रहेकोले पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वक वहन गर्ने नेतृत्व चयन गर्न सुझाव दिनुभयो ।
जिल्ला कमिटि सदस्य राजेन्द्र प्रसाद साहले दारु भरुको पछि लागुञ्जेलसम्म इमानदार,त्याग तपस्या गरेका नेताहरु यहि अवस्थामा चुनाव जित्न नसक्ने भएकोले यसतर्फ नेकपा एमालेका सबै तहका नेता कार्यकर्ताहरु सचेत हुनुपर्ने तर्क गर्नुभयो ।
कातिक ६ गतेसम्ममा लहानको २४ वटै वडाहरुमा चलिरहेको प्रथम वडाअधिवेशन बुधबारसम्ममा ११ वटा वडामा अधिवेशन सम्पन्न भैसकेको लहान नगर इन्चार्ज सरियार कुमारी चौधरीले जानकारी दिनुभयो
पटिल्लो विवरण अनुसार अधिवेशन सम्पन्न भएका वडाहरुमा २,३,४,५,६,८,९,१३,१४,१५ र १८ नम्वर रहेका छन् । २ मा अमोला महतो,३ मा राजेश चौधरी,४ मा शम्भु पण्डित,५ मा रियासत लिमि.६ मा गणेश पण्डित,८ मा हरिनारायण महतो,९ मा मो नियामुदिन,१३ मा कपलेश्वर यादव ,१४ मा राज कुमार महतो,१५ मा जागेश्वर चौधरी र १८ मा अनन्दलाल साहको नेतृत्वमा वडा कमिटि चयन भएको सिरहा–१ का क्षेत्रिय इन्चार्ज विष्णुलाल साहले जानकारी दिनुभयो ।
उहाँको अनुसार वाँकी रहेका १३ वटा वडाहरुमा ६ गतेसम्ममा सम्पन्न भएर ७ गते नगर अधिवेशन हुने छ । यसैगरी भगवानपुर , सखुवानन्कारकटि र लक्ष्मीपुर पतारीमा समेत वडा कमिटि धमाधम गठन भइरहेको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A