फिरोज सिद्दीकी,
लहान । समाजमा विद्यमान हानिकारक परम्परागत अभ्यासहरुलाई अन्त्य गर्न आफ्नै घरबाट सुरु गर्नु पर्ने एक कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन् ।
राष्ट्रिय महिला आयोगको आयोजना तथा मानवअधिकार संरक्षण केन्द्र (संजाल) सिरहा, महिला मानवअधिकार संजाल सिरहा, समग्र जनउत्थान केन्द्र लहान, मुक्ति नेपाल गोलबजार र ओरेक नेपाल सिरहा शाखाको समन्वयमा मंगलबार सिरहाको लहान स्थित नगर सभा हलमा समाजमा विद्यमान हानिकार अभ्यासहरु समवन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले उक्त कुरा बताएका हुन् ।

‘घरबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ संचालित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्नु हुँदै राष्ट्रिय महिला अयोगकी अध्यक्ष कमला पराजुलीले समाजमा परम्परागत रुपमा चल्दै आएको हानिकारक अभ्यासका कारण हुने जातिय छुवाछुतले समाजमा पारेको असर, दाईजो/तिलक प्रथाले निम्त्याएको घरेलु हिंसा, बलात्कार, बालबिवाहा, बोक्सी आरोपले पार्ने असर लगायतका बारेमा जानकारी दिदै तराई मधेशमा पृतिसत्तात्मक सोचका कारण महिला कसरी असुरक्षित हुन गएको कुरा बताउनु भयो ।
उहाँले अब आउने स्तथानीय तहको निर्वाचनमा महिलाहरु उपप्रमुखमा मात्र सिमित नभई एक तिहाइ प्रमुख हुनु पर्नेमा जोड दिदै महिला आयोगले आफ्नो प्रभावकारी बढाउने काम गरिरहेको समेत जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी सिरहाका प्रमुख जिल्ला अधिकारी लालाबाबु कवाडीले समाजमा भएका हानिकारक अभ्यासलाई अन्त्य गर्नु पर्छ भन्ने मनमा लागेपनि परम्परादेखि चलि आएको रिवाजलाई अन्त्य गर्न समय लाग्ने बताउनु भयो । तराई मधेशको भविष्य उज्ज्वल रहेको बताउदै भविष्यमा लैंगिक हिंसाका घटनाहरु विस्तारै न्युन हुदै जाने विश्वास व्यक्त गर्नु भयो ।
राष्ट्रिय महिला अयोगका केन्द्रिय सदस्य जिया घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लहान नगरपालिकाका नगर उपप्रमुख सरियार कुमारी चौधरी, नरहा गाउँपालिकाका उपाध्यक्ष गुलाब चौधरी, इलाका प्रहरी कार्यालय लहानका प्रहरी प्रमुख डा तपन दाहाल, महिला मानवअधिकार राष्ट्रिय संजालका केन्द्रिय अध्यक्ष श्याम कुमारी साह, मनोविमर्शकर्ता शर्मिला निरौला, मनवअधिकारकर्मी सुनिल कुमार साह, देवराज पोखरेललगायतकाहरुले आ-आफ्नो धारणा राखेका थिए भने कार्यक्रमको सहजीकरण रामभरोसी महतोले गरेको थियो ।
लैंगिक हिंसा विरुद्धको साझा प्रतिबद्धता व्यानरमा कार्यक्रममा उपस्थित सबैले हस्ताक्षर गरेका थिए ।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A