फिरोज सिद्दिकी / लहान
लहान र धनगढीमाई नगरपालिकाका नागरिक अगुवाहरुले आउनै लागेको चाडपर्वलाई मध्यनजर गर्दै डिजे बाजा र ध्वनि प्रदुषण नियन्त्रणका लागि पहल गर्न माँग गरेका छन् ।
बुधबार शान्ति र धार्मिक भाईचाराका लागि: हातेमालो अन्तर धार्मिक समिति लहानले लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरी, धनगढीमाई नगरपाकिलाका नगरप्रमुख शिवशंकर महतो, सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र ईलाका प्रहरी कार्यालय लहानका प्रमुख कुमार प्रसाद मैनालीलाई डिजे बाजा र ध्वनि प्रदुषण नियन्त्रणका लागि पहल गर्न माँग गर्दै ज्ञापन-पत्र बुझाएका हुन् ।
हातेमालो अन्तर धार्मिक समिति लहानका संयोजक सुशिलचन्द्र अधिकारी र उपसंयोजक सुलेमान मियाँ अन्सारीको संयुक्त हस्ताक्षरीत ज्ञापन-पत्रमा भनिएको छ- धार्मिक भाइचारा अभिवृद्धिका लागि गठन भएको हातेमालो अन्तर धार्मिक समितिले २०७३ असोज १३ गते लहानमा गरेको हिन्दु र मुस्लिम समुदायका वृहत भेला तथा भोषणा सभाले शान्ति र धार्मिक भाइचारायुक्त लहान नगर बनाउन ११ बुंदे घोषणापत्रमा प्रतिवद्धता गरी जारी गरिएको थियो ।
सो घोषणापत्रमा विभिन्न बहानामा लहान नगरभित्र हुने गरेको ध्वनी प्रदुषण नियन्त्रणका लागि धार्मिक, सामाजिक र साँस्कृतिक (विवाह) लगायतका कार्यक्रममा ध्वनि प्रदुषण फैलाउने गरी डिजे तथा स्पीकरहरु प्रयोग नगर्ने, कार्यक्रम स्थलभन्दा बाहिर स्पीकर प्रयोग गर्न नदिने, कार्यक्रम स्थलमा प्रयोग गरिएको स्पीकरको ध्वनि नियन्त्रण गरी प्रयोग र डिजे बाजा माथि प्रतिबन्ध लगाउनेलगायतका प्रतिवद्धता जारी गरिएकोले विभिन्न बहानामा हुने गरेको ध्वनी प्रदुषण नियन्त्रणका लागि आवश्यक पहल गरिदिन ज्ञापन-पत्र मार्फत अनुरोध गरिएको छ ।
प्रत्येक व्यक्तिलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्ने हक हुनेछ भनी वातावरण तथा स्वास्थ्य सम्वन्धी हकलाई नेपालको संविधान अन्र्तगत मौलिकहकको रुपमा परिभाषित गरिएको ले समग्र जनउत्थान केन्द्र लहानको पहलमा सो कार्यक्रम गरिएको समग्र जनउत्थान केन्द्रका अध्यक्ष रामभरोसी महतोले बताउनु भयो ।
हातेमालो अन्तर धार्मिक समितिका संयोजक अधिकारीले जनसरोकारका यी विषयलाई बेलैमा नियन्त्रण र नियमनमा ल्याउन सकिएन भने भोलीका दिनमा यसले थप समस्या र द्वन्द्वसिर्जना हुन सक्ने सम्भावना रहेको बताउँदै नगरमा धार्मिक भाइचारा अभिवृद्धि र शान्तिका लागि निरन्तर प्रयास र पहलहरु गरिरहने बताउनु भयो ।
लहान र धनगढीमाई नगरपालिकाका नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी र लहानका प्रहरी प्रमुखले माँगप्रति सकारात्मक धारणा ब्यक्त गर्नु भएको जानकारी दिनुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2023 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A