जीवछ उदासी
लहान,माघ १३ गते ।
कञ्चनपुर कमला सडक खण्ड निर्माण कार्यलाई समयमै सम्पन्न गर्न लहानको मुख्य चोकमा रहेको सहिदपार्क लहान नगरपालिकामा सम्पन्न सर्वदलीय बैठकमा भएको सर्वसम्मत निर्णयलाई नै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । हाल सहिदपार्क रहेको स्थानदेखि ५० मिटर दक्षीणमा रहेको तरकारी बजारमा सहिदपार्क राख्ने सर्वसम्मति भएको थियो ।
जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाका अध्यक्ष विकास शारडाले वाणिज्य संघको कार्यालयमा आज शनिबार सरोकारवालाहरुसँग राख्नु भएको अन्तरक्रियामा यस्तो आवाज उठेको हो ।
अन्तर्क्रियामा प्रदेशसभा सदस्यहरु राज कुमार गुप्ता ललिता दास विद्रोही लहान नगर उपप्रमुख राम चलितर महतो नेपाली काँग्रेसका प्रतिनिधि तथा वडा नम्बर -३ का वडाध्यक्ष रामदयाल महतो,एकिकृत जनता समाजवादी पार्टीका लहान नगर अध्यक्ष बिनोद साह जसपा अध्यक्ष मुरारी प्रसाद साह,जनमतका अध्यक्ष सुभाष जयसवाल र राप्रपाका गङ्गा देवी यादवले आफ्नो धारणा राख्नुभयो ।
प्रदेशसभा गुप्ताले सर्वदलीय निर्णय अनुसार सहिद पार्कको व्यवस्थापन हुनुपर्नेमा जोड दिँदै ओभरपास र अण्डरपास निर्माणको क्रममा लहानको मुख्य चोकमा पिलर निर्माण भए झन् राम्रो हुने बताउनुभयो ।
अर्का प्रदेशसभा सदस्य दासले केहि व्यापारीहरुको स्वार्थ पुरा गर्न सडक निर्माण कार्यमा अवरोध गर्न नहुनु बताउनुभयो । उहाँले भन्नुभयो,'सहिद पार्क राख्ने ठाउँमा हनुमान र महादेवको मुर्ति स्थापना हुनुहुँदैन्थ्यो । सर्वदलीय निर्णय भएको ठाउँमा मुर्ति निर्माण गरिरहेको बेला नगरपालिकाले ध्यान नदिनु चिन्ता र गम्भीर विषय हो । सर्वदलीय बैठकको भावना अनुसार नै सहिद पार्कको व्यवस्थापन हुनुपर्छ ।'
नगरउपप्रमुख महतोले सहिदको व्यवस्थापन सर्वदलीय बैठक अनुसार नै हुनुपर्ने तर्क गर्नुभयो । ओभरपास र अन्डरपास निर्माणसँगै सहरी क्षेत्रको पानी निकासको लागि ढल निर्माणकार्य अघि बढ्नुपर्ने उहाँले जोड दिनुभयो ।
कञ्चनपुर कमला सडकको पश्चिमी खण्डका प्रमुख उज्जवल श्रेष्ठले ओभरपास र अन्डरपासको नक्सामा हेरफेर गर्न नमिल्ने बताउनुभयो । उहाँले थप्नुभयो,'११ महिना समय मात्रै रहेको छ । ढल निकास लगायत फुटपाथ लगायतका साना कार्यक्रमहरुमा विचार त गर्न सकिएला तर ओभरपास र अन्डरपास निर्माणको क्रममा पर्खालको ठाउँमा पिलर राख्न मिल्दैन । यसो गर्दा सात गुणा खर्च बढ्ने छ ।'
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A